काठमाडौं– अस्पतालको आइसियुमा उपचाररत तथा गम्भिर अवस्थामा पुगेका बिरामीको उपचारका लागि अत्यावश्यक जीवनरक्षक औषधिको अभाव भएको छ।
आइसियुमा रहेका बिरामीलाई हरेक दिन अवस्था हेरेर चलाउनु पर्ने क्याल्सिय ग्लुकोनेट औषधिको अभाव भएको हो। बिरामीको अत्याधिक चाप हुने त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल तथा अन्य निजी अस्पतालमा समेत यो औषधि अभाव भएको छ।
औषधि व्ययवस्था विभागले दर्ता प्रक्रियामा कडाई गरेका कारण नेपालमा उत्पादन नहुने यी औषधि आयातमा समस्या परेको हो। आयात नभएका कारण अस्पतालमा औषधिको अभाव भएको विभागका एक कर्मचारीले जानकारी दिए।
यो औषधिमा नाफा कम हुने र विभागले दर्ताका क्रममा आयातकर्तालाई दुःख दिने तथा अन्य झन्झटमा फसाउने गरेका कारण आयातकर्ताले पनि औषधि ल्याउन आलटाल गर्न थालेको एक आयातकर्ता बताउँछन्।
तर, विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्री भने औषधि पैठारीसम्बन्धि नीतिका कारण दर्ता प्रक्रियामा केही समस्या भएको बताउँछन्।
‘जीवन रक्षक औषधि आयातमा पैठारी सम्बिन्ध नीतिका कारण केही समस्या देखिएको पक्कै हो,’ उनले भने, ‘त्यसकारण हामीले यस्ता औषधिको सूची बनाएर दर्ता प्रक्रियालाई सहज बनाउन लागिरहेका छौं।’
उनका अनुसार यो औषधिका विषयमा केही दिन पहिला स्वास्थ्य मन्त्रालयमा भएको औषधि सल्लाहाकार समितिको बैठकमा पनि छलफल भएको थियो। उक्त छलफलको निर्णय अनुसार नै विभागले दर्ता प्रक्रिया सहज बनाउन लागेको उनले बताए।
विभागमा महानिर्देशकको विषयमा समस्या हुँदा पनि यो विषयको निर्णयमा प्रभाव परेको एक कर्मचारी बताउँछन्। स्वास्थ्य मन्त्रालयले विभागका तत्कालिन निर्देशक नारायण ढकाललाई सरुवा गरेर क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिएको थियो।
ढकालले सिनियर हुँदा हुँदै जुनियरलाई जिम्मेवारी दिएको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए। सर्वोच्चले मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न र ढकाललाई नै महानिर्देशकमा निरन्तरता दिन आदेश दिएको छ। तर, अदालतको उक्त आदेश अनुसार मन्त्रालयले ढकाललाई पत्र दिएको छैन। अदालतको आदेश आएको दुई साता वितिसक्दा पनि अदालतले पत्र नदिँदा विभागमा महानिर्देशकको जिम्मेवारीका विषयमा विवाद हुँदै आइरहेको छ।