काठमाडौं- तोकिएको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले एक महिनाभित्र विद्यार्थीलाई शुल्क फिर्ता नगरे सरकारले कारबाही गर्ने भएको छ।
सोमबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका पदाधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो।
बैंकले विभिन्न मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी शुल्क लिएको भन्ने गुनासो आएको सम्बन्धमा छलफल गरेको थियो।
बैठकले तोकिएको शुल्कभन्दा बढी रकम एक महिनाभित्र फिर्ता नगरे कारबाही गर्ने निर्णय गरेको छ।
बैंठकमा गृहमन्त्री थापाले मेडिकल शिक्षाको शुलक २०७२ मा तोकिएपछिको अवधिमा लिएको बढी शुल्क फिर्ता गराउन राजनीतिक समाधान र कानूनी कारबाही दुवै प्रक्रिया अघि बढाइने बताए।
शिक्षामन्त्री पोखरेलले गत वर्ष मन्त्रीपरिषदले बैठकमा बढी शुल्क सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको जानकारी दिँदै बढी शुल्क फिर्ता नगरे सोही अनरुप कारबाही अघि बढाउनु पर्ने प्रस्ताव राखेका थिए।
बैठकमा गृहसचिव प्रेमकुमार राई, शिक्षा सचिव महेश दाहाल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुधा त्रिपाठी, चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रा.डा श्रीकृष्ण गिरी, आइओएमका डिन जगदीश अग्रवाल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकलका डिन राजेश कोजुलगायतको उपस्थिति थियो।
काठमाडौं उपत्यकाभित्र एमबिबिएस अध्ययनका लागि ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार मात्रै शुल्क लिन पाउने गरी सरकारले सिमा तोकेको छ।