काठमाडौं— स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले मन्त्रालयमा औषधि र उपकरण सम्बन्धि हेर्ने छुट्टै महाशाखा हुने बताएका छन्।
उनले मन्त्रालयको पुनसंरचना गर्ने काम भइरहेको जनाउँदै औषधि र उपकरणको क्षेत्र हेर्ने छुट्टै महाशाखा बनाउने निर्णय भएको बताएका हुन्।
बुधबार विश्व फर्मास्टि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै औषधिको अनुगमन, नियमन र मूल्य निर्धारण लगायतका काम स्वास्थ्य एक्लैले निर्णय गर्न नसक्ने बताए।
‘यी विषयमा सबैभन्दा अर्थ, उद्योग, कृषिलगायतका मन्त्रालय पनि जोडिन्छन’ उनले भने, ‘वर्षौदेखि यी क्षेत्रमा भएको विकृति रोक्न औषधि व्यवस्था विभागले पनि राम्रो काम गर्नुपर्छ।’
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले न्यूट्रासिटिकल्स र डायटरी सप्लिमेन्टहरु नेपालमा पनि औषधिसरह उत्पादन गर्न मिल्छ भन्ने स्पष्ट निर्णय हुन जरुरी भइसकेको बताए।
‘हामीले सम्पूर्ण भिटामिन भन्दैमा दुरदूर गर्नृुपर्ने अवस्था होइन, कतिपय अवस्थामा यो जरुरी छ। तर जथाभावि बेच्नु भने राम्रो होइन’ उनले भने।
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले न्युट्रासिटिकल्सका नाममा आम उपभोक्ता ठगिन नहुने बताए।
‘अहिलेको बजार चलखेलको बजार हो। चलखेल र विकृति रोक्न औषधि व्यवस्था विभागलाई बलियो बनाउनुपर्छ। औषधिजन्य विषय विभागबाटै हेरिनुपर्छ,’ उनले भने।
नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले सरकारले न्यूट्रास्यूटिकल्स र डायटरीको जथाभावि बिक्रिवितरण रोक्नुपर्ने बताए। राजनीतिक संरक्षणकै कारण विकृति भित्रिएको उनको भनाई छ।
उनले भने, ‘नेपालमा २५ प्रतिशत डाक्टरले मात्र बिरामीलाई न्युट्रासिटिकल्स र डायटरी लेख्छन् तर ७५ प्रतिशत मेडिकल पसलले नै आफै दिन्छन्। त्यसको कारण राज्यको नियमनकारी निकाय कमजोर हुनु हो।’
उनले औषधि र न्युट्रासिटिकल्स र डायटरीको उत्पादन, आयात, बिक्रिवितरण गर्ने कुरामा पनि राजनीति बताउँदै‘ पोषणजन्य र औषधिजन्य कुरा कुन कसले हेर्ने भन्ने स्पष्ट पार्नुपर्छ, जथाभावि औषधि वितरण गर्नेलाई कारवाहि गनैपर्छ।’
नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले खाद्य र औषधि विभागले कुन कुन विषय हेर्ने भन्ने द्विविधाले औषधि व्यवसाय, उत्पादकहरुलाई समस्या भएको उनले बताए।
नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल फार्मेसी संघ र ग्राजुयट फर्मासिस्ट एसोसिएसनले संयुक्त रुपमा सो आयोजना गरको कार्यक्रम आयोजना गरेको हो।
फार्मेसी क्षेत्रका तीन संगठन नेपाल फर्मास्युटिकल एसोसिएसन, नेपाल फार्मेसी संघ र ग्राजुयट फर्मासिस्ट एसोसिएसनले औषधि व्यवस्था विभागमा दर्ता नभएका खाद्यपुरक सामग्री (डायटरी सप्लिमेन्ट र न्युट्रासिटिकल्स) फार्मेसीबाट विक्री वितरण नगर्न नगराउन अनुरोध गरिसकेका छन्।
औषधि व्यवस्था विभागले भदौ २ गते विभागमा दर्ता नभएका यस्ता समाग्री विक्रि वितरण नगर्न सूचना जारी गरेको थियो।