काठमाडौं- नर्सिङ शिक्षाको पाठ्यक्रम बनाउँदा नेपालको अवस्था, आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड दिइएको छ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिएससी नर्सिङ कार्यक्रमको पाठ्क्रम निर्माण सम्बन्धी आयोजना गरेको कार्यशालामा पछिल्लो समय नर्सिङ शिक्षाको गुणस्तरमा प्रश्न उठिरहेकोले त्यसमा ध्यान दिनुपर्नेमा जोड दिइएको हो।
प्रतिष्ठानका उपकूलपति प्राडा संगीता भण्डारीले आगामी वैशाखदेखि बिएससी नर्सिङ कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको बताइन्।
सोही योजना अनुसार काउन्सिलले नेपालका स्वास्थ्य विज्ञान प्रतिष्ठान, नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका कलेज, सरोकारवालहरुसँग पाठ्क्रम निर्माणबारे दुुई दिने कार्यशाला आयोजना गरेको हो। कार्यशाला भोलिसम्म चल्ने बताइएको छ।
नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा गोमादेवी निरौलाल पाठ्यक्रमसँगै कलेजको भौतिक संरचना, क्लिनिकल ल्याब, र फ्याकल्टीलाई पनि चुस्त बनाउनुपर्ने बताइन्।
अध्यक्ष निरौलाले भनिन्, ‘पाठ्यक्रम त राम्रो बन्छ नै तर गुणस्तरीय जनशक्ति उत्पादनका लागि त्यो मात्र पर्याप्त हुँदैन। आफ्नै अस्पताल, क्लिनिकल प्राक्ट्रिस राम्रो नहुँदा कमजोर जनशक्ति उत्पादन हुन्छ।’
सरकारी नर्सिङ कलेजको आफ्नै अस्पताल हुने भएकोले गुणस्तर कायम गर्न पनि सहज हुने भन्दै अध्यक्ष निरौलाले निजीस्तरमा सञ्चालन भइरहेका कलेजको गुणस्तर निकै कमजोर भएको बताइन्।
काउन्सिलले आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेजका आफ्नै अस्पताल नभए कारबाही गर्ने सूचना जारी गरिसकेको जानकारी दिँदै गुणस्तर कायम गर्न काउन्सिल प्रतिवद्ध रहेको उल्लेख गरिन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटाले पाठ्यक्रम निर्माण गर्दा गुणस्तर जनशक्ति उत्पादन गर्ने कुरालाई ध्यानमा राखिनुपर्ने बताए।
उनले पछिल्लो समय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको तनावलाई सम्बन्धित सबै पक्ष बसी छिटोभन्दा छिटो सुल्झाउनुपर्ने पनि बताए।
नेपाल नर्सिङ काउन्सिलका रजिस्ट्रार वृन्दा घिमिरेले सरकारको हरेक प्रदेशमा एक स्वास्थ्य विज्ञान प्रतिष्ठान हुने प्रावधान अनुसार राप्ती स्वास्थ्य स्वास्थ्य विज्ञानले पनि प्रदेश ५ लाई समेट्ने बताइन्।
‘हरेक प्रतिष्ठान र कलेजको छुट्टैछुट्टै पाठ्यक्रम छ। त्यसको कपी नगरी गुणस्तर कायम राख्ने पाठ्यक्रम र शिक्षण कार्य हुनुपर्छ। काउन्सिलले गुणस्तर प्राथमिकता दिँदै आएको छ।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा केदार बरालले उत्पादन गर्ने नर्सिङ जनशक्ति हाम्रै लागि जनशक्ति उत्पादन गर्दैछौँ भन्ने सोचेर पठाउनसके प्रभावकारी हुने बताए।
उनले भने, ‘सेवा र शिक्षासँगै लैजानुपर्छ, नेपालमा अझै यी दुई कुरालाई छुट्टाएर लैजान मिल्दैन। सफ्ट एजुकेसनमा अझ ध्यान दिउँ।’