काठमाडौं- सरकार सम्बद्ध पार्टी नेकपा निकट विद्यार्थी संगठनले आफैं सञ्चालन गर्न आह्वान गरेको छ।
नेकपा निकट अनेरास्ववियूले प्रेस विज्ञप्ति जारी गर्दै सरकारलाई घुर्की र धम्की दिने मेडिकल कलेजहरुको जिम्मा आफैं लिएर सञ्चालन गर्न आग्रह गरेको हो।
निजी मेडिकल कलेजले अहिलेकै सिट र शुल्कमा पढाउनु परे सरकारलाई तालाचाबी बुझाउने धम्की दिइरहेका बेला नेकपा निकट विद्यार्थी संगठनको धारणा सार्वजनिक भएको हो।
अनेरास्ववियूका संयोजक ऐन महरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यको नीति र नियममा बसेर मेडिकल कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरुको जिम्मा लिएर आफैं सञ्चालन गर्न वा राज्यको नीतिनियम मान्न अन्य निकायलाई सञ्चालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आव्हान गर्दछौं।’
मेडिकल कलेजलाई दश वर्ष्भित्र गैरनाफामुखी र सेवामूलक बनाउने चिकित्सा शिक्षा ऐनमा प्रावधान राखिएकाले शुल्क घटाउँदै लैजानुपर्नेमा उल्टो मनपरी ढंगले शुल्क बढाउने र सरकारलगायतका नियमनकारी निकायको निर्देशन अवज्ञा गर्नु आपत्तिजनक रहेको अनेरास्ववियुको ठहर छ।
बढी शुल्क लिनेका विरुद्ध उजुरी गर्न आग्रह गर्दै लिइएको बढी शुल्क फिर्ता गराइछाड्ने अनेरास्ववियुले प्रतिवद्धता जनाएको छ।