काठमाडौं- नेपाली सेनाले धनगढीमा २५ शय्याको सैनिक अस्पताल सञ्चालन गर्ने भएको छ। अस्पताल सञ्चालनका लागि धनगढीस्थित नेपाली सेनाको बोराडाँडी ब्यारेक परिसरमा निर्माण कार्य अघि बढाइएको छ।
‘सेनाको कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त लगानीमा २५ शय्याको सैनिक अस्पपताल सञ्चालन गर्न लागिएको हो। अस्पताल भवनको निर्माण प्रक्रिया सुरु भइसकेको र एक वर्षभित्र अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको छ,' नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेयले बताए।
अस्पताल २०७७ साल सेना दिवसका दिन औपचारिक रुपमा उद्घाटन गरिने छ। यो अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रियालगायत सेवा पनि उपलब्ध हुने प्रवक्ता पाण्डेले बताए।
अस्पतालले आकस्मिक कक्ष सबैका लागि तथा बहिरङ्ग र अन्य सेवा भने सैनिक र उनीहरूका परिवारका लागि उपलब्ध गराउने सेनाको तयारी छ। सैनिक अस्पताल निर्माणपछि सुदूरपश्चिम प्रदेशका सैनिक र उनीहरूका परिवारको स्वास्थ्योपचारमा सहज पहुँच हुने अपेक्षा गरिएको छ।
काठमाडौँबाहिर यसअघि नेपालगञ्जमा सैनिक अस्पताल सञ्चालन भइसकेको तथा चालु आर्थिक वर्षमा नै इटहरी र पोखरामा सैनिक अस्पताल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा आउने प्रवक्ता पाण्डेले जानकारी दिए।(सांकेतिक तस्बिर)