धनगढी- कैलालीमा गर्भपतन गराउनेको संख्यामा कमी आउन सकेको छैन। स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकअनुसार तीन वर्षको अवधिमा झण्डै १२ हजार बढी महिलाले गर्भपतन गराएका छन्।
आर्थिक वर्ष २०७३/०७४ देखि आर्थिक वर्ष २०७५/०७६ सम्म औषधि खाएर र शल्यक्रियामार्फत् ११ हजार ९ सय ७१ महिलाले गर्भपतन गराएका छन्।
गर्भपतन गराउने गर्भवतीमा २० वर्ष उमेरमुनिका किशोरीको संख्या उल्लेख्य रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ। तथ्यांकअनुसार यो अवधिमा गर्भपतन गराएका मध्ये २० वर्षमुनिका किशोरीको संख्या १ हजार १ सय ८४ अर्थात ९ दशमलब ८९ प्रतिशत रहेको छ।
गत आर्थिक वर्षमा २ हजार ८ सय ९२ जनाले गर्भपतन गराएका छन्। त्यसमध्ये २ सय ४१ जना (८ दशमलब ३ प्रतिशत) गर्भवती २० वर्षमुनिका किशोरी छन्।
त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा ४ हजार ४ सय ८३ जनाले गर्भपतन गराएकोमा ४ सय ७६ जना (१० दशमलब ६१ प्रतिशत) २० वर्ष मुनिका किशोरी छन् भने आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ५ सय ९६ जनाले गर्भपतन गराएका छन्। जसमध्ये २० वर्ष मुनिका किशोरीको संख्या ४ सय ६७ जना अर्थात् १० दशमलब १६ प्रतिशत छ।
सरकारबाट स्वीकृति लिएर सुरक्षित गर्भपतन गराउने संस्थाहरुले औषधि खुवाएर र शल्यक्रियामार्फत गर्भपतन गराउने गर्छन्। कैलालीमा औषधि भन्दा शल्यक्रियामार्फत गर्भपतन गराउनेको संख्या बढी छ।
आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ४ सय ८४, आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ७ सय ४९ र आर्थिक वर्ष २०७३/०७४ मा २ हजार ९ सय ६१ महिलाले शल्यक्रियामार्फत गर्भपतन गराएका थिए।
त्यस्तै, औषधि खाएर भन्दा शल्यक्रियामार्फत गर्भपतन गराउने २० वर्ष मुनिका किशोरीहरु बढी छन्। आर्थिक वर्ष २०७५/०७६ मा १ सय ११, आर्थिक वर्ष २०७४/०७५ मा २ सय ८८ र २०७३/०७४ मा ३ सय ४१ किशोरीले शल्यक्रियामार्फत गर्भपतन गराएका कैलाली स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ।
७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनका कारण
सरकारले कानुनी मान्यता दिएपछि नेपालमा गर्भपतन गराउनेको संख्यामा वृद्धि भइरहेको छ। गर्भपतनले कानुनी मान्यता पाउनुअघि नेपालमा असुरक्षित तथा लुकिछिपी अनिच्छित गर्भपतन गराएकामध्ये धेरैजसो गर्भवती महिला जोखिममा पर्ने गरेका थिए।
सेन्टर फर रिसर्च अन इनभारमेन्ट, हेल्थ एन्ड पपुलेसन एक्टिभिटिज(कृपा) २०१४ को तथ्यांकअनुसार नेपालमा वार्षिक १ लाख ८६ हजार १ सय ४४ जना अर्थात ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको उल्लेख छ।
नेपालमा कूल मातृ मृत्युदरमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ।
१ लाख ६० हजार प्याकेट गर्भपतनका औषधि खपत, ७ प्रतिशत नेपालमा दर्ता नभएका
कृपाको अध्ययनअनुसार नेपालमा सन् २०१५/२०१६ मा अनुमानित १ लाख ६० हजार ५ सय ६६ प्याकेट गर्भपतनका औषधि खपत भएको देखिन्छ, जसमध्ये ७ प्रतिशत गर्भपतनका औषधि नेपालमा दर्ता नभएका औषधि हुन्।
सरकारले असुरक्षित गर्भपतनलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। तर, जथाभावी खोलिएका क्लिनिक तथा औषधि पसलले यसलाई चुनौती दिइरहेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्।
नेपाल परिवार नियोजन संघ, पिएसआई, गेरुवा ग्रामीण जागरण मञ्च लगायतका संघ-संस्थाको सहकार्य र सुरक्षित गर्भपतन सेवा तथा स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा पाँचौँ सुरक्षित गर्भपतन दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीहरुले जथाभावी औषधिको बेचबिखन रोक्न सुझाव दिएका थिए।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले आक्कलझुक्कल गर्भ बसेमा महिलालाई सुरक्षित बनाउन गर्भपतन सेवा ल्याइएको बताए। उनले भने, ‘तर, अहिले समाजमा यो फेसन जस्तै बनेको छ।’
स्वास्थ्यकर्मी यशोदा ढकालले चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्दा महिलाको स्वास्थ्य थप जोखिममा पर्ने गरेको बताइन्।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक खगेन्द्र बमले किशोरकिशोरीमा गर्भपतनको असर, सुरक्षित हुने तरिका लगायतका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको धारणा राखे।
गर्भपतनको संख्यामा वृद्धि हुनुको कारण के?
कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले अपर्याप्त सुरक्षित गर्भपतन सेवा केन्द्रहरु, दर्ता नभएका औषधिको प्रयोग, गर्भपतन सेवालाई परिवार योजना सेवाको रुपमा लिइएको, जनचेतनाको कमी, प्रभावकारी नियमन भूमिकाको अभाव लगायतका समस्या चुनौतीको रुपमा रहेको औंल्याए।
उनका अनुसार कलिलो उमेरमा शारीरिक सम्बन्ध राख्ने तथा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न झन्झन्ट मान्ने कारण पनि गर्भपतनको संख्यामा उल्लेख्य वृद्धि आएको हो।
कैलालीमा ७ वटा स्वास्थ्य चौकी, ४ वटा प्राथमिक स्वास्थ्य केन्द्र, २ वटा जिल्ला अस्पताल, सेती प्रादेशिक अस्पताल, नवजीवन, पद्मा, सेवा नर्सिङ होम, पिडी पोलिक्लिनिक, लालरत्न अस्पताल र घोडाघोडी अस्पताल, मेरिस्टोप तथा परिवार नियोजन संघले निजी क्षेत्रबाट गर्भपतन गराउने स्वीकृति पाएका छन्।