चितवन– उपराष्ट्रपति नन्दबहादुर पुनले क्यान्सरको उपचारका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको भन्दै उपचारका लागि विदेशमा जानु नपर्ने बताएका छन्।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औं वार्षिकोत्सव तथा १५ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले क्यान्सर अस्पतालको क्षमता विस्तार गर्दै सबै प्रकारको क्यान्सरको सहज उपचार गर्ने संस्थाका रुपमा विकास गर्नुपर्ने बताएका हुन्।
‘क्यान्सर उपचारका क्षेत्रमा नेपालमा ठूलो उपलब्धि हासिल भएको छ,’ उनले भने, ‘त्यसकारण अब क्यान्सरको उपचारका लागि नेपालीले विदेशमा जानु पर्ने बाध्यता हटेको छ।’ उनले क्यान्सरको उपचार सेवालाई देशका अन्य क्षेत्रमा पनि विस्तार गर्दै उपचारमा सहज पहुँच गराउनु पर्नेमा जोड दिए।
‘क्यान्सर अस्पतालको विकास र विस्तारका लागि मेरो तर्फबाट सक्दो सहयोग गर्नेछु,’ उनले भने, ‘यो अस्पतालको सेवा विस्तार गरेर उपचारका लागि विदेशिने अवस्थाको अन्त्य मात्र नभई विदेशबाट नेपालमा उपचारका लागि आउने वातावरण बनाउनुपर्छ।’
उनले स्वास्थ्य र शिक्षा क्षेत्रलाई व्यापारीकरणबाट रोक्नुपर्नेमा पनि जोड दिए। ‘नागरिकले सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्छ,’ उनले भने, ‘त्यसकारण यो क्षेत्रमा राज्यको लागनी बढाउन आवश्यक छ। स्वास्थ्य र शिक्षाका क्षेत्रमा व्यापारीकरण गर्नु हुँदैन।’
उपराष्ट्रपति पुनले आफ्ना दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेपछि उपचारका लागि विदेश लान तयारी गरिएको भए पनि आफ्नो उपचार नेपालमै हुन्छ भनेर यही उपचार गरेको पनि बताए।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले क्यान्सर अस्पतालको विस्तारमा सरकारले जोड दिइरहेको जानकारी दिए। ‘क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउने विषयमा मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ,’ उनले भने, ‘क्यान्सर अस्पताल उपचार, अनुसन्धान र अध्ययनका लागि उत्कृष्ट संस्थाका रुपमा बनाउने हाम्रो योजना छ।’
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालको प्रगति प्रतिवेदन र भावी कार्यक्रमका बारेमा जानकारी गराए।
अस्पताल सञ्चालक समितिका सदस्य प्रा डा तारा मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, समाजवादी पार्टी चितवनका अध्यक्ष प्रेम भुजेल, अस्पतालका पूर्वअध्यक्ष डा प्रकाशराज न्यौपाने, चीनको हवे प्रोभिन्सका कुङ्ग संङ्ग विश्वविद्यालयका निर्देशक प्रा डा लिउ जि चुन, अस्पतालको चिनियाँ मेडिकल टिमका टोली नेता लिउलिउ, अस्पतालका उपनिर्देशक डा निर्मल लामिछाने लगायतले आफ्नो धारणा राखेका थिए।