काठमाडौं– अवैध रुपमा असुलेको रकम फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीले चितवन मेडिकल कलेजलाई २४ घन्टे अल्टिमेटम दिएका छन्।
अवैध रुपमा असुलेको रकमका विषयमा प्रतिवेदन तयारीका बाँकी सम्पूर्ण काम सक्न विद्यार्थीहरुले कलेजलाई २४ घन्टे अल्टिमेटम दिएका हुन्।
असोज १२ गते विज्ञप्ति निकाल्दै विद्यार्थीले असोज १३ गते बिहान ११ बजेसम्म उक्त काम नभए भएन भने चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र आम नागरिक सम्मिलित वृहत् विरोध कार्यक्रम गर्ने उल्लेख गरेका छन्।
साथै अवैध रकम फिर्ता नहुन्जेलसम्म विरोध कार्यक्रम जारी राख्ने उनीहरुले घोषणा गरेका छन्।
आन्दोलनमा उपस्थित हुन सम्पूर्ण चितवनवासीलाई विज्ञप्तिमार्फत आग्रहसमेत गरिएको छ।
विगतमा जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौताबाट चितवन मेडिकल कलेज पक्ष पछि हटेमा अवैध शुल्कमा व्याज र जरिवाना थपेर असुली गर्नेगरी आन्दोलनलाई थप घनीभुत बनाउँदै लैजाने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ।
तीन हप्ता आन्दोलनपछि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा चितवन मेडिकल कलेज एक महिनाभित्र अवैध रुपमा असुलेको रकम विद्यार्थीलाई फर्काउन सहमत भएको थियो। त्यसका लागि असोज १० गतेसम्म फिर्ता गर्नुपर्ने रकम सम्बन्धी प्रतिवेदन तयार पार्न अभिभावक, विद्यार्थी कलेज, प्रशासन तथा जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि सम्मिलित समिति समेत बनेको थियो।
भर्पाइ शुल्क लिइएका सबै विद्यार्थीलाई रसिद दिई फिर्ता गर्नुपर्ने रकमसम्बन्धी पूर्ण प्रतिवेदन बन्नुपर्ने थियो। साथै कलेज प्रशासनसँग सम्बन्धित विद्यार्थीका आन्तरिक मागहरु समेत आपसी वार्ताबाट सम्बोधन हुनुपर्ने थियो।