रोल्पा- रोल्पामा एचआइभी एड्सबाट हालसम्म ७० जना संक्रमित देखिएका छन्। संक्रमितमध्ये महिलाको संख्या बढी रहेको रोल्पा प्लसले जानकारी दिएको छ।
घरधूरी भेटघाट गरी रगत परीक्षण गर्ने क्रममा अघिल्लो वर्ष १ जना र चालू आर्थिक वर्षमा नयाँ ३ जना संक्रमित फेला परेको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिइन्। 'पछिल्लो पटक एउटै परिवारका तीनजना नयाँ संक्रमित पहिचान गरेका छौं,' अध्यक्ष विकले भनिन्, 'श्रीमान्, श्रीमती र उनीहरुको एक बच्चासमेत संक्रमित भएको भेटियो।'
संक्रमितमध्ये हालसम्म १५ जनाको मृत्यु भइसकेको छ। जीवित संक्रमित ५५ जनामध्ये सवैले नियमितरुपमा औषधि सेवन बगरिरहेको बताइएको छ। रोल्पा घर भई जिल्ला बाहिरबाट औषधि सेवन गर्नेहरुको संख्या १७ रहेको छ। भने ३८ जनाले रोल्पा प्लसको नियमित निगरानी तथा परामर्शमा औषधी सेवन गरिरहेको रोल्पा प्लसले जानकारी दिएको छ।
'चेतनाको अभावका कारण संक्रमितहरु खुल्न चाहँदैनन्। नियमित औषधि सेवन गरे एचआइभी पनि अन्य रोग जस्तै सामान्य भए पनि संक्रमितहरु खुल्न चाहँदैनन्,' अध्यक्ष विकले भनिन्।
ग्लोबल फन्डको सहयोगमा रोल्पामा एचआइभीको रगत परीक्षण, औषधि वितरणजस्ता काममा प्राविधिक, आर्थिक तथा परामर्श सेवा दिइरहेको छ। एचआइभी संक्रमितहरुको साझा संस्था रोल्पा प्लसमार्फत जिल्लामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ।
'एचआइभीबारे मानिसहरुमा अझै पनि परम्परागत धारणा रहेका कारण संक्रमितहरु खुल्न चाहँदैनन्,' जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले भने। संक्रमितको संख्या योभन्दा पनि बढी हुनसक्ने रोल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकले बताए।
एचआइभी एड्सलाई लिएर परम्परागत बुझाई र धारणामा परिवर्तन ल्याउन प्रचारात्मक कार्यक्रममा जोड दिनुपर्नेमा उनले जोड दिए। छिमेकी जिल्लाको तुलनामा रोल्पामा संक्रमितहरुको संख्या केही कम भए पनि समयमै सचेत नबने यसको समस्या भयावह हुनसक्ने आँकलन गरिएको छ।
रोजगारीको सिलसिलामा भारत जानेहरु यो रोगबाट बढी संक्रमित हुने र उनीहरुबाट परिवारका अन्य सदस्यमा पनि सर्ने गरेको पाइन्छ। रोल्पाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या उल्लेख्य रहेको छ।