काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका कर्मचारीहरुमा ‘जवान’ कर्मचारीका रुपमा चिनिएका डा सुशीलनाथ प्याकुरेलले उमेरका आधारमा सरकारी सेवाबाट अनिवार्य अवकाश पाइसकेका छन्।
गत भदौ २२ गते स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा अवकाश पाएका डा प्यकुरेललाई विभागले आज बिदाइ गरेको छ। डा प्याकुरेलको सक्रियता र उनको फिटनेसका कारण उनलाई स्वास्थ्यमा जवान कर्मचारीका रुपमा धेरैले चिन्छन्। धेरैले उनको फिटनेसको राजका विषयमा जिज्ञासा पनि राख्छन्।
उमेरका हिसाबले ६० वर्ष पुगेका डा प्याकुरेलको स्वस्थ र फिट ज्यानका कारण नै उनले ‘जवान हाकिम’को उपमा पाएका हुन्। डा प्याकुरेललाई स्वास्थ्यमा ४० को दशकको उमेर मात्र भएका भन्दै उनको फिटनेसको प्रशंसा पनि गर्ने गरिन्छ।
हुन् पनि ६० को उमेरमा पनि उनको कपाल सेतै फुलेको छैन। कपालमा कालो लगाएको हो भनेर सोध्नेलाई उनी एक/दुई वटा फुलेको कपाल देखाउँदै भन्छन्, ‘म त अझै जवान छु, उमेर हेरेर हुँदैन। मेरो सक्रियता हेर्नुपर्छ।’
उनीजस्तै उमेर र उनीभन्दा कम उमेरका धेरै कर्मचारी उच्च रक्तचाप र मुधमेहको औषधि खाइरहेका छन्। आँखा कमजोर भएर चस्मा लगाएका छन्। तर डा प्याकुरेललाई अहिलेसम्म यी दुई समस्याले समातेको छैन। आँखामा चस्मा लगाउनुपर्ने अवस्था पनि आएको छैन। यहाँसम्मकी उनले हालसम्म एन्टिबायोटिकसमेत खानुपरेको छैन।
स्वास्थ्य विभागले सोमबार राखेको बिदाइ कार्यक्रममा पनि उनले हसिलो अनुहार लगाउँदै भने, ‘विभागबाट अवकास पाउनेमध्ये निरोगी र औषधि नै नखाने कर्मचारी म मात्रै होला।’
उनले आफूले अवकास पाए पनि मन्त्रिपरिषद्मा आफ्नो समय एक वर्ष थप गर्ने फाइल अझै अड्किरहेको जानकारी दिए।
‘म यतिबेला भिरमा फलेको फर्सिजस्तै भएको छु’ उनले भने, ‘एकातिर अवकासको आधिकारिक पत्र पाइसकेको छैन, अर्कोतिर एक वर्ष थप गर्ने विषय माथि नै अड्किरहेको छ।’
उनले स्वास्थ्य सेवा ऐन र नियमावली थाहा नभएका केही कर्मचारीले आफ्नो सेवाअवधि थप्ने विषयमा विरोध गरेको भन्दै गुनासो समेत व्यक्त गरे।
४० वर्ष सरकारी सेवामा विताएका डा प्याकुरेलले बिदाइ कार्यक्रममा सहभागि भएका विभाग र मातहतका महाशाखाका प्रमुख तथा कर्मचारीलाई टिममा मिलेर काम गर्न सुझाव दिए। फुटबल खेलको उदाहरण दिँदै डा प्यकुरेलले मिलेर काम गर्दा लक्ष्य हासिल हुने बताए।
‘जसरी फुटबलमा गोलकिपर, डिफेन्डर, स्ट्राइकरले मिलेर खेल्दा गोल गर्न सक्छन्, त्यसैगरी कार्यालयको काममा पनि सबै मिल्न जरुरी छ,’ उनले भने, ‘महानिर्देशक भनेको स्ट्राइकर जस्तै हो, अन्य कर्मचारीले फुटबलमा जस्तै फाइल पास गर्न सक्यो भने काम छिटो र राम्रो हुन्छ।’
रेडियोग्राफरबाट सरकारी सेवामा प्रवेश गरेका डा प्याकुरेलले स्वास्थ्यको १२ औं तहको प्रमुख विशेषज्ञ जिम्मेवारी सम्हाल्दै अवकाश पाएका हुन्।
बिदाइ कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा रोशन पोखरेलले डा प्याकुरेलले दिएको सुझाव झैँ आफू गोल गर्न तयार भएको बताए। उनले आफू पनि टिमवर्कमा विश्वास गर्ने भन्दै सबैलाई काममा साथ र सहयोग गर्न आग्रह गरे।
परिवार कल्याण महाशाखाका निर्देशक डा भिमसिंह टिंकरीले डा प्याकुरेल रिटायर्ड भए पनि टायर्ड नभएको र उहाँले स्वास्थ्यका क्षेत्रमा आगामि दिनमा पनि सहयोग गर्ने विश्वास व्यक्त गरे।