इटहरी– सरकारले हिजो (सोमबार) नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्यो। एसियामै पहिलो पटक खुला दिसामुक्त देश घोषणा गरिएसँगै सरकारले नयाँ उपलब्धि हासिल गरेको सरकारी अधिकारीको दाबी छ।
खुला दिसामुक्त देश घोषणा भएकै दिन इटहरी– १७ पकलीमा १० जना छालाका बिरामी बिरामी एकैसाथ देखिए। पकली स्वास्थ्य चौकीमा आएका सबैको समस्या एउटै प्रकारको थियो, फोहोरका कारण एलर्जी र दादुरा।
पकली गाउँको सिरानमा पर्छ मुस्लिम टोल, जहाँ अधिकांश घरमा शौचालय छैन। शौचालयविहीन परिवारले पैनी र खेतको डिलमा शौच गर्छन्। बर्खाको समय भएकोले त्यही पानी बगेर गाउँभरि पुग्छ।
त्यतिमात्र होइन, स्थानीय मुस्लिम समुदायको नुहाउने र लुगा धुने काम त्यही पैनीमा हुन्छ। भैंसी आहाल बसाउने, माछा मार्ने, नुहाउने, कपडा धुने, शौच गर्ने सबै एउटै पैनीमा हुन्छ।
स्कुले बालबालिकादेखि वृद्धवृद्धा सम्मको दैनीकी त्यही पैनीबाट नै चलेको छ। कलको पानी तान्नको झन्झटले सबैजसो परिवारले त्यही पैनीकै पानी चलाउँछन्।
अजिम महम्मदको केही वर्ष अगाडि एसओएसले दिएको ट्वाइलेट रहेछ। दुई वर्ष अघिसम्म छोरीको लागि भए पनि त्यो ट्वाइलेट उपयोगी थियो। तर अहिले त्यसको मर्मत गर्ने तागत र पैसा नभएपछि बोराले घेरेका छन्।
उनी स्वयंको लागि भने ट्वाइलेटको कुनै काम छैन। बिहान उज्यालो हुन नपाउँदै पैनीको किनारमा पुग्छन् उनी। सानैदेखि बाहिर दिसा गर्ने बानी भएको कारण ट्वाइलेटमा गुम्सिए जस्तो लाग्ने उनी बताउँछन्। त्यसैले उनी सधैं खुला ठाउँमा दिसा गर्छन्। सुरुमा केही दिन ट्वाइलेटमा बानी बसाउन खोजे पनि नसकेपछि बाहिरै शौच गर्न थालेको उनी बताउँछन्।
अजिमको भन्दा केही पश्चिममा पर्छ, अम्सुल महम्मदको गाउँ। उनले पनि चर्पी बनाउने तयारी नगरेका होइनन्, तर पैसा नपुगेपछि त्यत्तिकै थन्किए। अहिले उनको दैनिकी पनि खुला ठाउँमा दिसा गरेर नै सुरु हुन्छ। उनकी श्रीमती छिमेकीको ट्वाइलेट प्रयोग गर्छिन्। अम्सुल भने ट्वाइलेटमा बस्दा दिसा नै नआउने भएपछि बाहिरै गर्ने गरेको सुनाउँछन्।
सोमबार स्वास्थ्य चौकीमा औषधि लिन गएकी सकिला खानको जिउ चिलाउने समस्या देखापरेको ६ महिना भएछ। ७ महिना अगाडि सोही गाउँमा बिहे गरेर आएकी उनी ६ महिनादेखि औषधि सेवन गरिरहेकी छिन्। औषधि खान छाडेपछि जिउ चिलाउने र शरीर सुन्निने लक्षण देखापर्ने गरेको उनी सुनाउँछिन्।
उनीसँगै आएका उनका ससुरा रहिम महम्मदको पनि सोही प्रकृतिको समस्या छ। उनी पनि नियमित एलर्जीको औषधि सेवन गर्दा रहेछन्।
स्वास्थ्य कार्यालय पकलीकी प्रमुख (एचए) यमकुमारी ठकुरीका अनुसार दैनिक २० देखि ६० जनासम्म बिरामी आउँछन्। सबैभन्दा धेरै प्रेसर, सुगर र छाला सम्बन्धी रोगका बिरामी आउने गरेको उनी बताउँछिन्। त्यसमध्ये पनि ५० प्रतिशतभन्दा बढी छाला रोगका बिरामी हुने उनको भनाइ छ।
फोहोर पानीमा खेल्ने र त्यही पानी प्रयोग गर्ने भएका कारण यो समस्या आएको उनी बताउँछिन्। आफूहरुले बारम्बार फोहोर पानी नचालाउने भन्दा पनि बेवास्ता गर्ने गरेको उनको भनाइ छ। कपडा धुन र नुहाउन सजिलो भएकोले त्यही फोहोर पानी भए पनि प्रयोग गर्ने गरेको ठकुरीको बुझाइ छ।