जनकपुर - जनकपुर अञ्चल अस्पतालमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ। आयोगको बर्दिवासस्थित कार्यालयबाट पुगेको टोलीले अस्पतालमा छापा हानेको हो।
आयोगका बर्दिवास कार्यालयका प्रवक्ता हरिप्रसाद शर्माले कार्यालयमा परेको उजुरीको आधारमा अख्तियारको टोली अनुगमनका लागि अस्पतालमा छापा हानेको जानकारी दिए। अस्पतालमा विभिन्न उपकरण खरिद सहित अन्य कतिपय शीर्षकमा अनियमितता भएको उजुरीको आधारमा अख्तियारले छापा हानेको बताइएको छ।
अख्तियारको टोलीले छानबिनका लागि अस्पतालबाट केही फाइलहरु समेत नियन्त्रणमा लिएको छ भने टोलीले मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादव, डा.जामुन सिंह, डा.कुलदिप पण्डित, लेखा अधिकृत लगायतका कर्मचारीहरुसँग झण्डै तीन घण्टा सोधपुछ गरेको छ। साथै अख्तियारको टोली अस्पतालको स्टोर शाखामा पुगेर समेत जानकारी लिएको बताइएको छ।
अस्पतालका महंगा उपरकरणका साथै टेबल, कुर्सी लगायतका फर्निचर खरिदमा अनियमितता भएको भन्दै दर्ता भएको उजुरीको आधारमा अख्तियारले छापा हानेको बुझिएको छ।
अस्पतालमा नियम विपरित कर्मचारी भर्ना गरिएको भन्दै पटक पटक विरोध भएको थियो। नियम विपरित भर्ना गरिएका कर्मचारी हटाउन प्रदेश सरकारले निर्देशन समेत दिएको थियो।