काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारित समयमा माताहतका कार्यालयले संगठन संरचना तथा दरबन्दी पुनरावलोकनको विवरण नपठाएपछि पुन: ताकेता गरेको छ। मन्त्रालयले केही कार्यालयबाट विवरण प्राप्त नभएको र केहीको प्राप्त भए पनि निर्धारित ढाँचामा नभएको भन्दै पुन: ताकेता गरेको हो।
मन्त्रालयले माताहतका अस्पताल तथा कार्यालयलाई असोज २४ गतेसम्मको समय दिएको छ।
मन्त्रालयले यसअघि ७ दिनको समय दिएर पत्र पठाएको थियो। गत असोज २ गते पत्र पठाएर ७ दिन भित्र विवरण पठाउन भनिएको थियो। तर निर्धारित समयमा विवरण नआएपछि फेरि पत्र पठाउनु परेको हो।
मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र अनुसार स्वास्थ्य सेवा, औषधि व्यवस्था र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, महाशाखा तथा केन्द्र, प्रतिष्ठान, संघीय अस्पताल तथा कार्यालयलाई पत्र पठाएको हो।
सामान्य प्रशासनले कर्मचारी समायोजन सम्पन्न भएपश्चात संघीय सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र माताहत निकायहरुको कार्यक्षेत्र, त्यसको कार्यवोझ र कार्यपदद्धितका आधारमा संगठन तथा दरबन्दी उपयुक्त आकारमा ल्याउने निर्णय गरेको थियो।
सोही आधारमा स्वास्थ्यको संगठन तथा दरबन्दी उपयुक्त आकारमा ल्याउन मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठको संयोजकत्वमा कार्यदल समेत गठन भएको छ। कार्यदलले विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल, तालिम केन्द्र प्रखुको संयोजकत्वमा संगठन संरचना तथा दरबन्दी पुनरावलोकन समिति गठन गरि मन्त्रालयमा विवरण पठाउन पत्र पठाएको हो।
हेरौं पत्र