काठमाडौं – क्यान्सरको उपचारका लागि आवश्यक औषधिको अभाव हटाउन औषधि व्यवस्था विभागले तीन बुँदे निर्णय गरेको छ। विभागमा आज औषधि आयातकर्ताहरुसँग भएको छलफलपछि औषधिको अभाव तत्काल हटाउन लगायतका निर्णय भएको हो।
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि जस्तै भिनक्रिस्टाइन, भिनब्लस्टाइन, सिस्प्लाटिन र ५–एफभि लगायतका औषधि हर सम्भव उपलब्ध गराउने र यथेष्ट मात्रामा मौज्दात राख्ने निर्णय भएको विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्रीले जानकारी दिए।
औषधि आयातमा कुनै समस्या भएमा विभागलाई तत्कालै जानकारी गराउने, क्यान्सरमा प्रयोग हुने औषधिको मौजदात आगामि २७ गतेसम्म विभागलाई उपलब्ध गराउने निर्णय पनि भएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए।
उनका अनुसार विभागले मुल्य तोकेका केही औषधिको मुल्यमा त्रुटि देखिएकाले उक्त त्रुटि सच्याउँदै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ।
क्यान्सरको उपचारमा प्रयोग हुने यी औषधिको अभाव भएपछि विभागले आयातकर्तासँग आकस्मिक छलफल गरि उक्त निर्णय गरेको निमित्त महानिर्देशक क्षेत्रीले जानकारी दिए।
नेपाली बजारमा औषधि अभाव भएपछि बिरामीका आफन्तले भारतमा पुगेर औषधि किन्नु पर्ने बाध्यता भएको छ।