कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका तीन वैज्ञानिकले संयुक्त रूपमा सन् २०१९ को चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्।
पुरस्कार पाउनेमा ब्रिटेनका सर पिटर र्याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा छन्।
उनीहरूको खोजले हाम्रो दैनिक शारीरिक अभ्यासदेखि धेरै उचाइमा हुँदा तथा आमाको गर्भमा हुँदा हुने विभिन्न प्रक्रियालाई समेटेको छ।
उनीहरूको अनुसन्धानले रक्तअल्पता र क्यान्सरको उपचारको नयाँ विधिमा पनि सहयोग पुर्याएको छ।
द स्विडिश अक्याडमीले भनेको छ, "अक्सिजनको मूलभूत महत्त्वलाई शताब्दियौँदेखि बुझिँदै आएको छ, तर अक्सिजनको मात्रामा हुने परिवर्तनहरूलाई कोषहरूले कसरी चिन्छन् भन्ने कुरा अहिलेसम्म थाहा थिएन।"