काठमाडौं- सरकारले चिकित्सा शिक्षा आयोगमा सदस्यहरु नियुक्त गरेको छ। रिक्त रहेका सबै सदस्यहरुको नियुक्तीसँगै आयोगले पूर्णता पाएको छ।
आयोगमा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुमध्येबाट ३ जनामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बास्कोटा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा भरत यादव र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई नियुक्त गरेको छ।
यस्तै स्वास्थ्य सम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङ लगायतका आधिकारिक पेशागत संगठनका अध्यक्षहरु मध्येबाट कम्तीमा एकजना महिला सहित २ जनामा एसोसियसन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिष्ट अफ नेपाल अध्यक्ष शेखरबाबु रिजाल र नर्सिङ संघको अध्यक्ष तारा पोखरेल नियुक्त भएका छन्।
यसैगरी, चिकित्सा शिक्षा विज्ञहरु मध्येबाट समावेसी सिद्धान्तको आधारमा कम्तीमा दुईजना महिला सहित ३ जनामा प्राडा दिव्यासिंह शाह, प्राडा शैली प्रधान र प्राडा जगदिशप्रसाद अग्रवाल नियुक्त भएका छन्।
नागरिक समाजका लब्ध प्रतिष्ठित २ जना तर्फ डा रमेशकान्त अधिकारी र डा गीता गुरुङ नियुक्त भएका छन्।
सरकारले केही समयअघि मात्र आयोगको कार्यकारी अधिकार रहेको उपाध्यक्षमा डा श्रीकृष्ण गिरीलाई नियुक्त गरेको थियो।
आयोगको अध्यक्षमा प्रधानमन्त्री र सहअध्यक्षमा शिक्षा र स्वास्थ्यमन्त्री रहने व्यवस्था छ।