डडेल्धुरा - चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले ७ बुँदे माग राख्दै आमरण अनसन सुरु गरेका छन्।
डा केसी यो पटक डडेल्धुरामा अनसन बसेका छन्। यो डाक्टर केसीको १७ औं अनसन हो। जिल्लाको अमरगढी ५ डडेल्धुरा अस्पताल जानेबाटोमा रहेको मेडिकल सञ्चालक निलकण्ठ भट्टको घरमा उनले साँझ साढे ४ बाजेबाट अनसन सुरु गरेका हुन्।
अनसन सुरु गर्दै उनले वर्तमान दुई तिहाइको सरकारले माग पुरा नगरेसम्म आफ्नो अनसन जारी राख्ने बताए।
यी हुन् ७ बुँदे माग
१.हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।
२.विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।
३.आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैधरुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस्। अर्बौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका सञ्चालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस्। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डु विश्वविद्यालयको आंगिक कलेज तथा बिस्तारित कार्यक्ममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यबस्था गरियोस।
४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायत निर्णय तत्काल खारेज गरियोस्।
५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति र्पुयाएर एमबिबिएस कार्यक्रम सञ्चालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरियोस्। प्रदेश २ र ४ तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्।
६.संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवन्डाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस्।
७.क्यान्सर लगायतका महंगा औषधिहरु भारतभन्दा ४/५ गुणा महंगो भएकाले सुपथ मुल्यमा उपलब्ध गराउने व्यबस्था गरियोस। कर्मचारी समायोजन कारण सेवा नै अबरुद्ध भएका डडेल्धुरा अस्पताल लगायतका सम्पुर्ण अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबदीअनुसार चिकित्सक र स्वास्थ्यकमीको व्यबस्था गरीयोस ।