म नि: सन्देह भन्न सक्छु मुजा परेर
मुस्कुराएका थोते हाँसोहरुले हजार पीडा लुकाइरहेछन्
छातिमा गहिरो दर्द लुकेको छ
आँखामा अनगिन्ति असिमित सपनाहरु नाचिरहेछन्
सपना पनि धमिलो देख्ने आँखाहरु
एक थान खुशि खोज्दै बाँचिरहेछन्
दु: खको मानो, सन्तोष को छानो मुनि
आफ्नाहरुको भरोशा खोज्दै छ मनले
नातिलाइ साथी बनाएर उसैको बुढि औंलामा
जिन्दगी डोर्याउदै घर परको चौर म्म पुगेर
आंगन फर्किन मन छ
तर भारी जीवन लिएर एउटा
मरण सम्मको लागि शरण खोज्दै
आसै आसको सास फेर्दै सपना बाँचिरहेछ
यहाँ मस्त बिस्ताराहरु पनि बिघ्न बिजाइरहेछन्
मझेरि छेउ सुकुल बिछ्याएर मीठो निदरि निदाउन मन छ
मिठो मसीनो जे पाक्छ त्यहि खाएर
घरकाहरु सँगै सानो सपना सजाउनु छ
धरमर - धरमर गर्ने शरीरलाई सहारा र सारथी चाहिने बेला
भग्न जिन्दगीसंग घस्रिएर रहर बाँचिरहेछ
मिर्मिरेमा त्यही बतासको झोक्कासंग बहकिदै
डाँडाको पिपलबोटमा जल चढाएर
दीव्य दीप बाल्न मन छ
तर मनमा भय, अभाव र असहजताको विरुप
अन्धकारमा जिन्दगी बाँचिरहेछ
बर्षौं भयो रहरहरुको सहर सजाएको
मेरै हुन भन्ने मैले कोहि भेट्दिन
जो भेटाए उनिहरुलाई आफ्ना बनाएर बस्दै छु
बुढ्यौलीले जिस्काउदै छ कि यो भाग्यले जिस्काउदै छ!
तन कैयौं पर पुगिसक्यो
कठै मन भने त्यही पाखो पखेरोमै छ
बिघ्न असन्तुष्टि त्यही भाग्यसंग छ
कम्तीमा मेरो ललाटमा आफन्त लेख्न बिर्सिएछ
आफ्नाहरुको मन आफ्नो नभएसी हजारौको बिचमा
एक्लो जिन्दगी जिइरहेछु
म फगत जिन्दगी जिइरहेछु
कि फगत अभिलासाले मलाई उधुनिरहेछन्
दर्दहरुले भिजाएर आँसुबिहिन बनेका रोदनहरुमा
चाउरिएका रहरका फक्ल्याटामा पार गर्दै
सुख्खा आँखामा खडेरी परेका रहरहरु सजाएर
रुखबीनाको छहारी अनि आगमनबीनाको पर्खाइ पर्खिरहेछु
जिन्दगीमा भेट्याउदै नभेट्याउको रङ भेट्याउन
निधारमा नअटाउने खुसी पछ्याउन
यति पर्खिसके अवतरणबीनाको उडान
रङबीनाको इन्द्रेणी,
सुवाष बीनाको उधान,
पानी बीनाको बादल,
सुसेली बीनाको गुन्जन
अब मलाई लामो निन्द्रा निदाउन मन छ
स्वप्निल, शान्त र सुरम्य !!
- कुँवर महाराजगञ्ज नर्सिङ क्याम्पसमा पब्लिक हेल्थ विषयमा स्नातक तह अध्ययनरत छिन्।
यो पनि