हाम्रो समाजमा मुख स्वास्थ्यका बारेमा धेरै भ्रमहरू व्याप्त छन्। तीमध्ये अधिकांश भ्रमहरू मानिसको अटल विश्वासका रूपमा बसेका छन्। वैज्ञानिक तथ्यका आधारमा यस्ता बुझाइहरू पूर्णतः गलत भए तापनि सर्वसाधारणलाई बुझाउन निकै चुनौतीपूर्ण छ। आजको विज्ञानको युगमा हामीले सही तथ्यहरूलाई आत्मसात गर्नैपर्छ। यस लेखमार्फत मुख स्वास्थ्यसँग जोडिएका केही प्रमुख भ्रम र तिनका यथार्थबारे चर्चा गरिएको छ:
भ्रम १: दाँत सफा गर्दा दाँत कमजोर हुन्छ र हल्लिन्छ।
तथ्य: यो बुझाइ ठ्याक्कै उल्टो हो। यदि दाँतमा फोहोर जमाएर राखियो भने गिजा सुन्निने, गिजा तल सर्ने, दाँत हल्लिने र कालान्तरमा दाँत नै झर्ने समस्या आउन सक्छ। दाँत र गिजामा जम्ने फोहोर 'डेन्टल प्लाक' (दन्त लेउ) र कडा खालको 'डेन्टल क्याल्कुलस' (टार्टर) मा अर्बौँका सङ्ख्यामा कीटाणुहरू हुन्छन्। तिनले उत्पादन गर्ने रसायनले गिजा, दाँत र हड्डीलाई हानि पुर्याउँछ। त्यसैले, चिकित्सकको सल्लाह अनुसार हरेक ६ महिना वा वर्ष दिनमा मेसिनले दाँत सफा (Scaling) गराउनुपर्छ। एकपटक फोहोर जमेर कडा भएपछि ब्रसले मात्र हटाउन असम्भव हुन्छ। बरु सुरुदेखि नै राम्रोसँग ब्रस गरेर फोहोर जम्नै नदिनु बुद्धिमानी हुन्छ।
भ्रम २: बच्चाको दाँत झरेर अर्को आउने नै हो, त्यसैले दाँत भर्नु (Filling) पर्दैन।
तथ्य: यो पनि सत्य होइन। बच्चाका दुई प्रकारका दाँत हुन्छन्: सुरुको २–३ वर्षभित्र आउने 'दूधे दाँत' र पछि आउने 'स्थायी दाँत'। सुरुमा आउने २० वटा दाँतहरू साटिने दाँत हुन्। तर, ६ वर्षपछि पछाडि उम्रिने बङ्गारा भने स्थायी हुन्छ, जुन कहिल्यै साटिँदैन। नसाटिने दाँतलाई त स्वस्थ राख्नैपर्छ, साथै साटिने दाँत पनि आफ्नो समयतालिका अनुसार मात्र झर्नु राम्रो हुन्छ। सामान्यतया ६ देखि १२ वर्षको उमेरमा दाँतहरू साटिन्छन्। समय नपुग्दै दूधे दाँत निकालियो भने पछि आउने स्थायी दाँतले सही ठाउँ पाउँदैन र दाँतहरू बाङ्गो–टिङ्गो आउने सम्भावना हुन्छ। तसर्थ, सुरुमा खानपिन र सरसफाइमा ध्यान दिएर किरा लाग्नै दिनु हुँदैन। यदि किरा लागिहालेमा समय नपुग्दै दाँत निकाल्नुको सट्टा 'फिलिङ' गराउनु उपयुक्त हुन्छ।
भ्रम ३: दाँत दुखेको छैन भने किरा लागेको छैन।
तथ्य: धेरै बिरामीलाई 'दाँतमा किरा लागेको छ, भर्नुपर्छ' भन्दा "मलाई त दुखेकै छैन" भन्ने जवाफ पाइन्छ। तर, दुखाइ सुरु हुनुभन्दा निकै पहिले दाँतमा किरा लागिसकेको हुन्छ। कहिलेकाहीँ किरा लाग्न सुरु भएदेखि दुख्ने अवस्थासम्म पुग्न वर्षौँ लाग्न सक्छ। जब किराले दाँतको भित्री भाग (नसा) सम्म असर गर्छ, तब मात्र दुखाइ सुरु हुन्छ। सुरुवाती अवस्थामै उपचार गरेमा प्राकृतिक दाँत जोगाउन सकिन्छ र आरसीटी, दाँत निकाल्ने वा इम्प्लान्ट राख्ने जस्ता जटिल र महँगा उपचारको झन्झट पर्दैन। यसका लागि प्रत्येक ६–६ महिनामा परीक्षण गराउने र खानपान (केक, चकलेट, कोल्ड ड्रिङ्क्स र प्रशोधित खानेकुरा निषेध) मा ध्यान दिई ताजा फलफूल र सागसब्जी सेवन गर्नुपर्छ।
भ्रम ४: कडा ब्रसले बेस्सरी घोटेर माझ्यो भने दाँत सफा हुन्छ।
तथ्य: यो अर्को घातक बुझाइ हो। यदि कडा ब्रसले बल लगाएर दाँत घोटियो भने दाँतको बाहिरी तह (इनामेल) खिइन्छ। विशेष गरी दाँत र गिजाको मिलन हुने ठाउँमा खाल्डो परी दाँत सिरिङ्ग–सिरिङ्ग हुने (Sensitivity) समस्या देखिन्छ। पछि त्यही ठाउँबाट दाँत भाँचिने वा नसा छोएर दुख्ने हुन सक्छ। तसर्थ, सधैँ 'नर्मल' वा 'सफ्ट' ब्रसले हलुकासँग दाँत माझ्नुपर्छ।
भ्रम ५: दाँत किराले खायो भने निकाल्नु नै उत्तम विकल्प हो।
तथ्य: किराले खानेबित्तिकै दाँत निकाल्नुपर्छ भन्ने हुँदैन। सामान्य अवस्थामा 'फिलिङ' गरेर र अलि बढी असर गरेको भए 'आरसीटी' र 'पोस्ट-कोर' गरेर पनि दाँत जोगाउन सकिन्छ। यसरी उपचार गरेर बचाइएको प्राकृतिक दाँत पछि राखिने कृत्रिम दाँतभन्दा निकै सहज, बलियो र भरपर्दो हुन्छ।
तसर्थ, मुख स्वास्थ्य सम्बन्धी यस्ता भ्रमहरू चिरेर वैज्ञानिक तथ्यलाई आत्मसात गर्नुपर्छ। समाजमा फैलिएका अफवाहलाई निरुत्साहित गर्दै चिकित्सकको सल्लाह पालना गर्नु नै बुद्धिमानी हुन्छ।
– (कन्सल्टेन्ट प्रोस्थोडोन्टिस्ट डा. पदम नेपाली भरतपुर अस्पतालमा कार्यरत छन्।)