काठमाडौं- नेपाल मेडिकल काउन्सिलले यसअघि गरेको ३६ जना गैरआवासीय चिकित्सकको लाइसेन्स खारेजको निर्णय स्थगित गरेको छ।
काउन्सिलको वैशाख २९ गते बसेको पूर्ण बैठकले ३६ जना गैरआवासीय चिकित्सकको हकमा दर्ता किताबबाट हटाउने विषयमा पहिला भएको निर्णय स्थगित गर्ने निर्णय गरेको हो।
काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले काउन्सिलको पूर्ण बैठकले पहिला भएको निर्णय स्थगित गर्दै गरेको र गैरआवासीय नेपाली चिकित्सकलाई 'गैरआवासीय नेपाली चिकित्सक दर्ता'का लागि आह्वान गर्ने निर्णय भएको जानकारी दिए।
'पहिला खारेज गर्ने भन्ने विषयमा सूचना आएको थियो। उक्त विषय स्थगन गर्ने निर्णय भएको हो,' उनले भने, 'विदेशमा रहेका गैरआवासीय नेपाली चिकित्सकलाई गैरआवासीय लाइसेन्स लिनका लागि आह्वान गरिने छ।'
यसअघि काउन्सिलले दुई पटक सार्वजनिक सूचना निकाल्दै ३६ जना चिकित्सकको काउन्सिलको दर्ता कितावबाट नाम दर्ता खारेज गरेको जानकारी दिएको थियो। त्यसपछि त्यसको सर्वत्र विरोध भएको थियो।