काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौँ मूल्य बराबरका अत्यावश्यक स्वास्थ्य उपकरणहरू लामो समयदेखि प्रयोगविहीन अवस्थामा थन्किएका छन्। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले प्रतिष्ठानमा रहेका करोडौंका जीवनरक्षक उपकरणहरू प्रयोगमा नआएको खुलासा गरेको हो।
प्रतिवेदनअनुसार प्रतिष्ठानको आर्थिक प्रशासनसम्बन्धी नियमावली, २०७४ मा सम्पत्तिको लगतसम्बन्धी व्यवस्था भए पनि उपकरणहरूको उचित व्यवस्थापन र उपयोग हुन सकेको छैन।
जिन्सी निरीक्षण प्रतिवेदनलाई उद्धृत गर्दै महालेखाले जनाएअनुसार कुल १८ करोड २९ लाख १० हजार रुपैयाँ बराबरका मेसिन तथा उपकरणहरू विगत लामो समयदेखि बिनाउपयोग थन्किएका छन्।
प्रयोगविहीन अवस्थामा रहेका मुख्य उपकरणहरू:
भेन्टिलेटर: ६५ थान
एनेस्थेसिया मेसिन: १६ थान
हेमोडायलाइसिस मेसिन: ३० थान
इन्डोस्कोपी मेसिन: १४ थान
सीटी स्क्यान मेसिन: २ थान
मर्मत गरेर तत्काल उपयोगमा ल्याउन निर्देशन
बिरामीको चाप अत्यधिक हुने र सधैँजसो आइसियु बेड, डायलाइसिस र सीटी स्क्यानका लागि पालो पर्खिनुपर्ने अवस्था सञ्चारमाध्यममा आइरहँदा, प्रतिष्ठानभित्रै यति ठूलो संख्यामा उपकरणहरू चल्ने अवस्थामा नरहनु वा थन्किनुले व्यवस्थापकीय कमजोरी उजागर गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको यो विषयमा गम्भीर ध्यानआकर्षण गराउँदै उल्लेखित मेसिन तथा उपकरणहरूको आवश्यक मर्मत-सम्भार गरी तत्काल उपयोगमा ल्याउन सुझाब दिएको छ।