काठमाडौँको एक निजी क्लिनिकमा २६ वर्षीया सुस्मिता (नाम परिवर्तन) धेरै तनावमा थिइन्। अनुहारमा बारम्बार आउने कडा डन्डीफोर, शरीरमा अनावश्यक रौँ पलाउने समस्या र महिनावारी कहिले आउने, कहिले नआउने समस्याले उनको दिनचर्या नै प्रभावित भएको थियो। तीन वर्षदेखि उपचार गराउँदै आए पनि उनलाई 'पीसीओएस छ' भनेर मात्र भनियो। तर उनको समस्या पाठेघर वा डिम्बाशयमा मात्र सीमित थिएन।
उनी जहिले पनि थकित महसुस गर्थिन्, तौल निरन्तर बढिरहेको थियो, मनस्थिति एक्कासि परिवर्तन हुन्थ्यो। सबैभन्दा ठूलो डर- के भविष्यमा आमा बन्न सकिएला र?- यसले उनलाई मानसिक रूपमा पनि कमजोर बनाइरहेको थियो।
तर, अहिले विश्वभर चिकित्सा जगत्मा एउटा नयाँ बहस चलिरहेको छ, जसले सुस्मिताजस्ता लाखौँ महिलाको जीवन बुझाइलाई पुनः परिभाषित गर्न खोज्दैछ- पीसीओएसलाई अब पीएमओएस (पोलिसिस्टिक मेटाबोलिक–ओभेरियन सिन्ड्रोम) भनेर पुनःनामकरण गर्ने प्रस्ताव।
द ल्यान्सेटको नयाँ बहस: किन नाम परिवर्तन गर्ने?
विश्व प्रसिद्ध चिकित्सा पत्रिका ‘द ल्यान्सेट’ मा हालै प्रकाशित एउटा विज्ञ सहमतिले पीसीओएस शब्दलाई पुनः परिभाषित गर्ने विषयमा गहन बहस उठाएको छ। परम्परागत रूपमा 'पीसीओएस' लाई केवल डिम्बाशयमा पानीका फोका (सिस्ट) देखिने समस्या भनेर बुझाइन्थ्यो। तर अब वैज्ञानिकहरू भन्छन्- 'यो केवल डिम्बाशयको रोग होइन, यो शरीरको सम्पूर्ण मेटाबोलिज्म–हर्मोन–प्रजनन प्रणालीमा असर गर्ने एउटा जटिल विकार हो।'
यसैले 'पोलिसिस्टिक ओभरी सिन्ड्रोम' भन्नुभन्दा 'पोलिसिस्टिक मेटाबोलिक–ओभेरियन सिन्ड्रोम (पीएमओएस)' भन्ने अवधारणाले यसको व्यापक स्वरूप झल्काउँछ।
यसको मुख्य आधार यस्ता छन्:
सबै बिरामीको डिम्बाशयमा सिस्ट हुँदैन।
इन्सुलिन प्रतिरोध (शरीरले इन्सुलिनलाई राम्ररी प्रयोग गर्न नसक्ने अवस्था) यसको प्रमुख कारण हो।
यो केवल प्रजनन समस्या मात्र नभएर मेटाबोलिक रोग पनि हो।
दीर्घकालीन जोखिमका रूपमा मधुमेह, हृदयरोग र बाँझोपन जोडिन सक्छ।
छालारोग विशेषज्ञको दृष्टिकोण: छालाबाट देखिने भित्री रोग
छालारोगको नजरले हेर्दा पीसीओएस/पीएमओएस एउटा 'छालाको झ्यालबाट देखिने रोग' हो। छालारोग विशेषज्ञ डा. विकास पौडेल भन्छन्: 'हामी धेरैजसो महिलालाई डन्डीफोर, चिल्लो छाला, अनुहार वा शरीरमा अनावश्यक रौँ पलाउने समस्या लिएर आएको देख्छौँ। तर यी केवल छालाका समस्या मात्र होइनन्- यी शरीरभित्र भइरहेको हर्मोन असन्तुलनका बाहिरी संकेत हुन्।'
छालामा देखिने मुख्य लक्षणहरू यस प्रकार छन्: डन्डीफोर (विशेष गरी चिउँडो वरपर), चिल्लो छाला, अनावश्यक रौँ पलाउने, घाँटी र काखी वरपरको छाला कालो र बाक्लो हुँदै जानु- यो इन्सुलिन प्रतिरोधको संकेत हो।
उनी थप्छन्: 'यदि हामीले छालाका लक्षणको मात्र उपचार गर्यौँ भने मूल रोग नै छुट्छ। यो बहु–प्रणालीगत विकार हो, त्यसैले एकीकृत रूपमा बुझ्नुपर्छ।'
बाँझोपन विशेषज्ञको दृष्टिकोण: प्रजनन मात्र होइन, पूरै मेटाबोलिज्मको कुरा
निःसन्तानपन विशेषज्ञ डा. दीपा चुडाल भन्छिन्: 'पीसीओएस/पीएमओएस भएका धेरै महिलाहरूलाई हामीले केवल ‘बच्चा नहुने समस्या’ भनेर मात्र बुझ्यौँ भने ठूलो गल्ती हुन्छ।'
उनका अनुसार डिम्ब निस्कने प्रक्रिया (ओभुलेसन) नियमित हुँदैन, इन्सुलिन प्रतिरोध हुन्छ, हर्मोन असन्तुलन हुन्छ र तौल बढ्दै जान्छ, जसले गर्दा महिनावारी झन् बिग्रँदै जान सक्छ।
उनी जोड दिएर भन्छिन्: 'अब हामीले बिरामीलाई ‘तपाईंलाई बच्चा हुँदैन’ भन्ने होइन, ‘यो एउटा व्यवस्थापन गर्न सकिने मेटाबोलिक अवस्था हो’ भनेर बुझाउनुपर्छ।'
पीसीओएस → पीएमओएस: यो परिवर्तन किन आवश्यक?
पुरानो नाम 'पीसीओएस' ले तीनवटा मुख्य भ्रम सिर्जना गरेको थियो:
१. गलत बुझाइ: 'डिम्बाशयमा मात्र समस्या'
तर वास्तविकतामा यो रोगमा मस्तिष्कको हाइपोथालामस, प्याङ्क्रियाजबाट निस्कने इन्सुलिन, र शरीरको बोसोयुक्त तन्तु सबै जोडिन्छन्।
२. पहिचानको खाडल
कतिपय महिलामा डिम्बाशयमा सिस्ट नै हुँदैन, तर सबै मेटाबोलिक लक्षणहरू देखिन्छन्। पुरानो नामकरणले यिनीहरू छुट्ने सम्भावना रहन्थ्यो।
३. लाञ्छना (स्टिग्मा)
'डिम्बाशयको समस्या' भन्नेबित्तिकै समाजले फर्टिलिटी अर्थात् प्रजनन क्षमतासँग मात्र जोडिदिन्थ्यो, जसले महिलामाथि अनावश्यक मानसिक दबाब थपिन्थ्यो।
शरीरभित्रको जीवविज्ञान: हर्मोन, मेटाबोलिज्म र इन्सुलिन प्रतिरोधपीएमओएसलाई बुझ्न तीन मुख्य आधार छन्:
१. हर्मोन असन्तुलनएन्ड्रोजन (पुरुष हर्मोन) बढ्न जान्छ, जसले डिम्ब निस्कने प्रक्रियालाई अनियमित बनाउँछ।
२. इन्सुलिन प्रतिरोधशरीरमा इन्सुलिन प्रतिरोध भयो भने प्याङ्क्रियाजले धेरै इन्सुलिन बनाउँछ। यो धेरै इन्सुलिनले डिम्बाशयलाई उत्तेजित गरेर एन्ड्रोजन उत्पादन बढाउँछ।सरल भाषामा: इन्सुलिन प्रतिरोध → धेरै इन्सुलिन → धेरै एन्ड्रोजन हर्मोन, फलस्वरूप तौल बढ्ने, डन्डीफोर निस्कने, बाँझोपन हुने जस्ता समस्या देखिन्छन्।
३. दीर्घकालीन सूजन (क्रोनिक लो–ग्रेड इन्फ्लामेसन)शरीरभित्र निरन्तर हल्का सूजनको अवस्था रहिरहँदा दीर्घकालीन मेटाबोलिक जोखिम बढाउँछ।
नेपाल र दक्षिण एसियाको सन्दर्भ
नेपालमा पीसीओएस/पीएमओएसको समस्या झनै गहिरो छ, किनभने नेपालीहरूको सहरी जीवनशैली (लामो समय बसिरहने काम), प्रसोधित तथा जंक फुडको बढ्दो प्रयोग, विवाह र गर्भधारणको उमेर ढिलो हुँदै जानु, र तनाव तथा निद्राको अभाव हुनु यसका मुख्य कारण हुन्। तर सबैभन्दा ठूलो समस्या चाहिँ धेरै महिला यसलाई 'सामान्य हर्मोन गडबडी' सोचेर बेवास्ता गर्छन्, जसले गर्दा रोग लुकेर बढिरहन्छ।
भ्रम र यथार्थ
मिथ्या १: 'पीसीओएस भए बच्चा हुँदैन।'→ यथार्थ: धेरै महिलाले जीवनशैली सुधार र उपचारपछि सफलतापूर्वक गर्भधारण गरेका छन्।
मिथ्या २: 'यो केवल स्त्रीरोग हो।'→ यथार्थ: यो हर्मोन र मेटाबोलिज्मसँग जोडिएको बहु–प्रणालीगत विकार हो।
मिथ्या ३: 'डिम्बाशयमा सिस्ट भए मात्र पीसीओएस हुन्छ।'→ यथार्थ: सिस्ट नहुँदा पनि यसको पहिचान हुन सक्छ।
पहिचान (डायग्नोसिस): नयाँ दृष्टिकोण
पीएमओएसको पहिचान अब केवल भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) मा मात्र निर्भर हुँदैन। यसलाई निम्न आधारमा मूल्याङ्कन गरिन्छ:
शारीरिक लक्षणहरू (डन्डीफोर, अनावश्यक रौँ, तौलवृद्धि)
हर्मोन परीक्षण (टेस्टोस्टेरोन, एलएच/एफएसएच)
मेटाबोलिक सूचकहरू (इन्सुलिन, ग्लुकोज)
अल्ट्रासाउन्ड (सहायक रूप रूपमा मात्र)
उपचार: औषधि मात्र होइन, जीवनशैली नै औषधि
१. जीवनशैली परिमार्जन
शरीरको तौल ५–१० प्रतिशत घटाउने
नियमित शारीरिक व्यायाम
कम ग्लाइसेमिक इन्डेक्स भएको खाना (जस्तै: गेडागुडी, हरियो सागसब्जी, मोटो अन्न)
२. औषधि उपचार
हर्मोन नियमन गर्ने औषधि
इन्सुलिन प्रतिरोध घटाउने औषधि (जस्तै: मेट्फर्मिन)
डन्डीफोर तथा छालासम्बन्धी उपचार
३. प्रजनन व्यवस्थापन
डिम्ब निष्कासनलाई उत्प्रेरित गर्ने
आवश्यक परे सहायक प्रजनन प्रविधि (जस्तै: आईयूआई, आईभीएफ)
छालारोग र स्त्रीरोग विशेषज्ञको सहकार्य मोडेल
डा. विकास पौडेल भन्छन्: 'अब पीएमओएसको व्यवस्थापन बहुविधामूलक हुनुपर्छ- छालारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, हर्मोन विशेषज्ञ सबै एउटै टोलीमा रहेर काम गर्नुपर्छ।' डा. दीपा चुडाल थप्छिन्: 'बिरामीलाई केन्द्रमा राखेर गरिने हेरचाह नै अबको भविष्य हो।'
नाम परिवर्तन मात्र होइन, सोचमै परिवर्तन
पीसीओएसबाट पीएमओएसमा जाने बहस केवल शब्द परिवर्तन होइन- यो चिकित्सा सोचको एउटा ठूलो रूपान्तरण हो। यसले हामीलाई के सिकाउँछ भने यो रोगलाई कुनै एउटा अङ्गको नभएर सम्पूर्ण प्रणालीको रूपमा हेर्नुपर्छ। महिलाको स्वास्थ्यलाई केवल प्रजनन क्षमतासँग नजोडी समग्र मेटाबोलिक स्वास्थ्यसँग जोड्नुपर्छ। 'यो केवल नाम परिवर्तन होइन, महिलाको सम्पूर्ण स्वास्थ्यलाई पुनः परिभाषित गर्ने प्रयास हो।'
- (छाला तथा यौनरोग विशेषज्ञ डा. विकास पौडेल पाटन अस्पताल र शंखमूल हेल्थ केयरमा कार्यरत छन्।
गाइनेकोलोजिस्ट र निःसन्तान तथा प्रजनन् विशेषज्ञ डा. दीपा चुडाल नेपाल प्रहरी अस्पतालमा कार्यरत छिन्।)