बुटवल - गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले दाङको लमहीमा स्थापना गरेको लमही सामुदायिक डायलाइसिस सेन्टरले आफ्नो सेवा शुभारम्भ गरेको छ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा स्थापना गरिएको सेन्टरमा १० वटा डायलाइसिस मेसिन जडान गरी सेवा सुभारम्भ गरिएको हो।
सेवा सुरु भए पनि यसको औपचारिक उद्घाटन भने २९ गते गर्ने कार्यक्रम तय भएको छ। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सेन्टरको औपचारिक उद्घाटन गर्न लागेका हुन्।
सेन्टरमा बुधबारदेखि सेवा सुरु भएको हो। सेवा सुरुभएको पहिलो दिन ८ जना बिरामीको मिर्गौलाको डायलाइसिस गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।
अध्यक्ष आलमले करिब ५ करोडको लागतमा स्थापित सेन्टरबाट दैनिक ३० जना बिरामीको नियमित डायलाइसिस गर्न सकिने बताए।
हाल तुलसीपुर र घोराही अस्पतालमा दुईदुई वटा डायलाइसिस मेसिन संचालनमा रहेपनि बिरामीहरुको चाप धेरै भएकोले दाङ, प्यूठान, सल्यान, रोल्पा, रुकुम लगायतका क्षेत्रबाट समेत बुटवल, नेपालगञ्ज, काठमाडांैमा डायलाइसिस गर्न जान बाध्य थिए।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले डायलाइसिस सेन्टरबाट पश्चिम क्षेत्रका बिरामीहरुलाई राहत मिल्ने भन्दै खुशी व्यक्त गरे।