मकवानपुर– पुर्वी मकवानपुरको बागमती गाउँपालिका–६, फापरबारीमा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न भएको छ। भ्याली कलेज अफ टेक्निकल साइन्सेज काठमाडौंका स्नातक तह (जनस्वास्थ्य) पाँचौ सेमेष्टरको ‘ए’ समुहका बिद्यार्थीहरुले पुस २५ गतेदेखी एक महिने कार्यक्रम संचालन गरेका हुन्।
कार्यक्रम अन्तरगत दुई हप्ता फापरबारी बजार तथा स्थानीय खोला सरसफाई, स्वास्थ्यसम्बन्धी तथ्यांकहरु संकलन र विश्लेषण गरिएको भ्याली कलेजका टोली नेता विनोद श्रेष्ठले बताए। उनका अनुसार अध्ययनमा वास्तविक आवश्यक्ताहरुको पहिचान गरिएकाले स्वास्थ्यसम्बन्धी नीति निर्माणमा सहयोग पुग्ने छ।
तथ्यांकमा पोषण, गर्भ जाँच, जनसंख्या, लिंग, जातजाति लगायतको विवरण रहेको बताइएको छ । बागमती गाउँपालिका वडा नम्बर ६ का ६ सय ५० घरधुरीमध्ये २ सय ६० घरधुरीको तथ्यांक संकलन गरिएको छ।
८ छात्रा र ४ छात्र गरी १२ जना विद्यार्थीले संकलन गरेको तथ्याङ्क प्रस्तुतीकरण पनि गरिएको छ। कार्यक्रम बागमती गाउँपालिका ६ का वडा अध्यक्ष ध्रुबबहादुर थापाको प्रमुख आतिथ्य तथा टोली नेता श्रेष्ठको अध्यक्षतामा भएको थियो।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख लक्ष्मण शाह, इलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख बच्चुराम फुँयाल, भ्याली कलेजका शिक्षक नारायण त्रिपाठी लगायतले मन्तव्य व्यक्त गरेका थिए।