काठमाडौं– तेस्रो नर्सेस एथलेटिक मिट—२०७६ सम्पन्न भएको छ। डा खगेन्द्र स्पोर्टस फाउण्डेसन तथा ब्लूक्रस अस्पताल त्रिपुरेश्वरको संयुक्त आयोजनामा भएको उक्त मिट शनिबार सम्पन्न भएको हो।
तेस्रो नर्सेस एथलेटिक मिट—२०७६ मा १ सय मिटर दौडमा नेपाल मेडिकल कलेज हस्पिटलकी शर्मिला पौडेल प्रथम, सशस्त्र प्रहरी अस्पतालकी पुजा यादव द्धितिय तथा ग्रीनसिटी अस्पतालकी पुजा राईले तृतीय स्थान हासिल गरेकी छिन्।
२ सय मिटर दौडमा ग्रिनसिटी हस्पिटलकी पुजा राई प्रथम, सशस्त्र प्रहरी अस्पतालकी पुजा यादव द्धितिय र उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस हस्पिटलकी मुना श्रेष्ठले तृतीय स्थान हासिल गरेकी छिन्।
त्यस्तै, रोड रेसमा नेपाल प्रहरी हस्पिटलका खुशी हिराचन प्रथम, सशस्त्र प्रहरी अस्पतालका राजेश्वरी बदु द्धितिय र सशस्त्र प्रहरी अस्पतालकै रोजी गजमेर तृतीय स्थान हासिल गर्न सफल भए।
४ सय मिटर रिले दौडमा नेपाल मेडिकल कलेजका खेलाडीहरु प्रथम, ग्राण्डी हस्पिटलका खेलाडीहरु द्धितिय र नेपाल प्रहरी हस्पिटलका खेलाडीहरु तृतीय स्थान हासिल गर्न सफल भए ।
‘रन फर कमिटमेन्ट, रनर्स आर वीनर’ भन्ने नाराका साथ सम्पन्न भएको उक्त नर्सेस मिटमा ४ विद्याका खेलहरु भएका थिए। जसमा १ सय मिटरको दौड, ४ मिटरको रिले तथा २.५ किलोमिटरको स्वयम्भु परिक्रमा रोड—रेश रहेको थियो। प्रतियोगितमा ३४ अस्पतालका ४ सय जना नर्सहरुले खेलाडीका रुपमा दौडमा सहभागिता जनाएका थिए।
विजेतालाई विधागत रुपमा २० देखि ५ हजारसम्म पुरस्कार प्रदान गरिएको छ। यसका साथै हिमालयन हर्बल हेल्थ केयर कंम्पनीबाट सम्पूर्ण पदक बिजेताहरुलाई गिफ्ट ह्याम्परका साथै ब्लूक्रस व्यवस्थापन टिम र गौतम होलिडेज् प्रा लिबाट एक रात दुई दिनको पूर्ण प्याकेजको कालिन्चोक टुर समेत पुरस्कार स्वरुप प्रदान गरिएको ब्लु क्रस हस्पिटलकी प्रबन्धक सती देवी गौतमले जानकारी दिइन्।