विगत पाँच वर्षदेखि हेल्थ असीस्टेन्ट (एचए) को पदमा कार्यरत छु। मेरो छैठ तहमा बढुवा हुनुपर्ने हो तर पनि पाँचौ तहको पद काम गर्न बाध्य छु। सुदुरपश्चिमको स्वास्थ्य कार्यालय बझाङमा कार्यरत छु। बझाङमा दरबन्दी रही हाल चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जमा जनस्वास्थ्य स्नातक तहमा अध्ययनरत छु।
स्वास्थ्य सेवा ऐन २०५३ ले जुनसुकै कर्मचारी पनि पाँचौ तहमा रहेर पाँच वर्षसम्म काम गरेपछि उसको एक तह बढुवा हुने व्यवस्था छ। अर्थात् पाँचौ तहबाट छैठौं तहमा उसको बढुवा हुन्छ। तर म लगायत अन्य एचए, अनमी, अहेब, ल्याब असीस्टेन्ट, स्टाफ नर्स, ल्याब टेक्निसियनहरु कसैको पनि विगत डेढ वर्षदेखि स्तरोन्नति भएको छैन।
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले समायोजन सकिएको छैन भन्ने बहानामा हाम्रो स्तरोन्नति गरेको छैन। मन्त्रालय र विभागमा पटक–पटक गयौ। उहाँहरुले कहिले समायोजन त कहिले कुन बहानामा हामीलाई अड्काइरहेको छ। करिब आठ महिना पहिले हामीले पाटन अदालतमा मुद्दा दायर गर्यौ। स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा हामीले न्याय पायौ। अदालतले ऐनमा भएको कुरा किन लागू नगरेको भन्दै मन्त्रालयलाई लागू गर्न निर्देशन दियो। त्यो मुद्दा जितेको पनि चार महिना भैसक्यो। अदालतले आदेश दिदा पनि मन्त्रालयले हाम्रो स्तर वृद्धि गर्नुपर्ने हो त्यो अहिलेसम्म गरेको छैन।
प्रत्येक वर्षको असार र माघमा गरी दुई पटक बढुवा हुनुपर्छ। चौथो तहको पाँचौ र पाँचौ तहको छैठौमा स्तर वृद्धि हुनुपर्छ। यसको निश्चित मापदण्डहरु छन्। पाँच वर्ष सेवा गरेको हुनुपर्छ। त्यसमा पनि एक वर्ष अति दुर्गम अथवा दुई वर्ष दुर्गम जिल्लामा काम गरेको हुनुपर्ने व्यवस्था छ। यी सब मापदण्ड हामीले पुरा गरेका छौ। यति हुँदा हुँदै पनि अहिलेसम्म हाम्रो स्तर वृद्धि नभएको डेढ वर्ष भैसकेको छ। हाम्रो मुख्य समस्या यही हो।
यो मेरो मात्र समस्या होइन। म जस्ता अन्य थुप्रै छन्, जो यो समस्याबाट गुज्रिरहेका छन्। ७७ जिल्लामा काम गर्ने स्वास्थ्य क्षेत्रका सहायक तहका कर्मचारीहरुकै समस्या हो। ऐनले भनेको कुरा लागू गर भनेर अदालतले आदेश दिएपनि मन्त्रालयले किन लागू गदैन?
हाम्रो दिन अहिले मन्त्रालय धाएरै बित्छ। कहिले उप सचिवलाई भेट्छौं, कहिले सचिव त कहिले मन्त्रीज्यूलाई भेट्छौं। उहाँहरुले हुन्छ, तपाईको काम गर्छौं भन्नु हुन्छ तर अहिलेसम्म भएको छैन। हामीले अहिलेसम्म चिठी पाइसक्नुपर्ने तर मन्त्रालय धाउँदैमा दिन बितिरहेको छ। हामीले आफ्नो हक अधिकारको लागि लडेको डेढ वर्ष बितिसक्यो। पहिले पाटन अदालत अहिले मन्त्रालय धाउँदैमा दिन बितिरहेको छ।
सरकारले स्तर वृद्धि नगर्दा हामीले पाउने सेवा सुविधा रोकिएको छ। मैले छैटौंको सेवा सुविधा पाउनुपर्नेमा पाँचौ तहमा सीमित हुनुपर्ने बाध्यता छ। पाटन अदालतले आदेश दिँदा पनि मन्त्रालयले गरेको छैन। हामी फेरी पनि केही समय पर्खन्छौं तर मन्त्रालयले गरेन भने मानहानीको मुद्दा पनि हाल्छौं। तर मन्त्रालयले गर्नेछ भन्ने हाम्रो अपेक्षा छ।
हामीमा काम गर्ने जोश जाँगर छ। तर सरकारले देखाएको व्यवहारबाट हामी निराशा हुँदैछौ। स्वास्थ्य क्षेत्रमा सेवा गर्ने मेरो उद्देश्य र सपनालाई कृपया अपुरो हुन नदेउ सरकार।
-(जिल्ला स्वास्थ्य कार्यालय बझाङका हेल्थ असिस्टेन्ट पदमराज भट्टसँग कमला गुरुङले गरेको कुराकानीमा आधारित)