काठमाडाैं- नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले चीनबाट ल्याइएका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने सरकारको निर्णयमा आपत्ति जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सुवालले घना बस्तीबीचको तालिम केन्द्रलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरेर चीनबाट ल्याइएकालाई राख्न नहुने अडान राखेका हुन्।
‘खरिपाटी तालिम केन्द्रमा चीनबाट ल्याउने मानिस राख्ने निर्णय सरकारले गरेछ’, उनले भने, ‘घना बस्तीबीचको तालिम केन्द्रमा राख्नु हुँदैन, बस्तीभन्दा बाहिरको स्थानमा राख्ने गरी सरकारले ठाउँ खोजोस्।’
सांसद सुवालले खरिपाटी तालिम केन्द्रमा चीनबाट ल्याइएकालाई राख्ने सरकारी निर्णयविरुद्ध स्थानीयवासी विरोधमा उत्रिसकेको पनि जिकिर गरे। सरकारले कोरोना फैलिएको चीनको वुहान क्षेत्रबाट ल्याउन लागिएका करिब १८० जनालाई खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टाइन बनाएर दुई सातासम्म चिकित्सकीय निगरानीमा राख्ने निर्णय गरेको छ।