दीपक घिमिरे
भैरहवा - भैरहवास्थित भीम अस्पतालमा चौबिस घन्टे ल्याब सेवा सुचारु गरिएको छ। हालसम्म ओपिडी सेवा समयमा मात्रै सञ्चालन हुदै आएको ल्याब सेवा (प्रयोगशाला) बिहिबारबाट चौबिसै घन्टा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।
चौबिस घन्टे ल्याब सेवाको जिल्ला समन्वय समितिका सभापति एकराज बिश्वकर्मा र सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरे।
अस्पतालको सेवा प्रवाहलाई सुदृढिकरण गर्न चौबिसै घन्टा प्रयोगशाला सञ्चालनमा ल्याएपछि रगत, दिसा तथा पिसाब परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नबिन दर्नालले बताए।
अस्पतालले ल्याब सेवाका लागि ८ जना प्राविधिकलाई ३ सिफ्टमा विभाजन गरेको छ।
अस्पतालले हालसम्म दैनिक सरदरमा ७० जनालाई ल्याब सेवा दिँदै आएको बताएको छ। चौबिस घन्टे सेवा सुरु भएपछि सेवाग्राही पनि बढ्ने अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए।
उनले अहिले थाइराइड बाहेकका सबैजसो ल्याब सेवा दिन सक्ने गरी पूर्वाधार तयार गरेर काम अगाडि बढाइको बताए।
अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका विश्वकर्माले फागुन महिनाभित्रै अस्पताललाई २५ श्ययाबाट ५० शैयामा स्तरोन्नती गर्ने गरी काम अगाडि बढाइएको बताए।
विकास समितिका सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्यका अध्यक्ष कुलप्रसाद न्यौपानेले भीम अस्पताललाई जिल्लाकै उत्कृष्ट प्रसूति गृहको रुपमा विकास गर्नु पर्नेमा जोड दिए।