पूर्णबहादुर खड्का
अछाम - न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालले नयाँ एम्बुलेन्स प्रयोगमा ल्याएको छ। अन्तराष्टिय सहयोगी संस्था रोज बर्ड फाउण्डेशनको आर्थिक सहयोगमा एम्बुलेस प्राप्त भएपछि संचालनमा ल्याइएको अस्पतालका सिनियर संचालन तथा खरिद विभाग प्रमुख तिलकमान बोहराले बताए।
प्रमुख बोहराका अनुसार बयालपाटा अस्पतालमा यस अघि संचालनमा रहेको एम्बुलेन्स धेरै पुरानो भइसकेकाले नयाँ एम्बुलेन्सका लागि सहयोग माग गरेपछि रोज बर्ड फाउण्डेशनको आर्थिक सहयोग मार्फत नयाँ एम्बुलेन्स संचालनमा आएको हो।
पुरानो एम्बुलेन्स जिल्लाको दुर्गम ठाँउमा जान नसक्ने, पटक पटक बिग्रीने समस्या भएकाले पनि नयाँ एम्बुलेन्सको आवश्यक्ता भएको र अब बिरामीलाई पनि सेवा लिन सहज हुने प्रमुख बोहराको भनाइ छ।
बिगत झैँ नयाँ एम्बुलेन्स पनि सशुल्क रुपमा संचालन गरिने न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकाश गौचनले बताए। उनका अनुसार एम्बुलेन्सको लागि लाग्ने खर्च, चालक लगायतका खर्च आन्तरिक रुपमा न्याय हेल्थ नेपालले नै व्यहोर्ने छ।
एम्बुलेन्स सेवामा जेष्ठ नागरिक, महिला स्वयंसेविका तथा स्वास्थ्य बिमामा बिमित भएका बिरामीहरुलाई शुल्कमा १० प्रतिशत छुट प्रदान गरिएको अस्पतालले जनाएको छ।