नवीन अभिलाषी
दाङ- दाङको लमहीस्थित डायलाइसिस सेन्टरले सेवा दिन थालेपछि मिर्गौलाका बिरामीलाई सहज भएको छ। दाङ, प्युठान, रोल्पा, सल्यानदेखि अर्घाखाँचीसम्मका मिर्गाैला बिरामीलाई डायलाइसिस सेवा लिन बुटवल, भैरहवा र नेपालगञ्जसम्म पुग्नुपर्ने बाध्यता थियो।
रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा स्थापना गरिएको सेन्टरमा १० वटा डायलाइसिस मेसिन छन्।
यसअघि दाङको तुलसीपुरस्थित प्रादेशिक अस्पताल र घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका दुई-दुई वटा डायलाइसिस मेसिन थिए। तर, ती मेसिनले पर्याप्त सेवा दिन नसकिरहेको अवस्थामा लमहीमै १० वटा मेसिन राखेर दैनिक तीन चरणमा उपचार दिनसक्ने भएपछि जिल्ला बाहिरबाट समेत सेवा लिन आउनेहरु बढेको लमही डायलासिस सेन्टरका व्यवस्थापक सुशील पाण्डेले बताए।
गत माघ २२ गतेबाट सेवा सुरु गरेको सेन्टरको औपचारिक उद्घाटन भने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलबाट माघ २९ गते भएको थियो। अहिले सो सेन्टरबाट १७ जना बिरामीले सेवा लिइरहेका छन्।
प्युठानकी पवित्रा थापालाई आफ्नो श्रीमान्को उपचारका लागि भैरहवा लैजानुपर्ने बाध्यता थियो। तर अब लमहीबाटै सेवा पाएपछि खर्च र समय व्यवस्थापनमा निकै सहज भएको छ। ‘हप्ताको दुई पटक भैरहवा लैजानुपर्ने अवस्था थियो। होटलमा खानुपर्ने, बस्नुपर्ने हुुन्थ्यो,’ पवित्राले भनिन्, ‘यहाँ भीड पनिहुँदैन, जति बेला आए पनि काम भइहाल्छ, आफन्तहरु नजिकै छन्, सजिलो भएको छ।’
पवित्रा जस्तै अन्य बिरामीका आफन्तलाई लमहीको डायलाइसिस सेन्टर बरदान सावित भएको छ। एक पटकमा १० जना बिरामीलाई सेवा दिन सक्ने सेन्टरको दैनिक तीन चरणमा ३० जनालाई सेवा दिन सक्ने क्षमता छ।
लमही नगरपालिका– ५ को रातो डाँडामा लमहीनगर विकास समितिले डायलाइसिस सेन्टर सञ्चालनका लागि भवन उपलब्ध गराएको छ। डायलाइसिस सेन्टर सञ्चालनको लागि लमही नगर विकास समिति र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बीचमा सम्झौता भएको रोटरी क्लब अफ लमहीका सचिव केशव घिमिरेले बताए।
‘दाङ र यसपासका मिर्गौला बिरामीका लागि डायलाइसिस सेवा पर्याप्त थिएन। कि बुटवल, भैरहवा कि नेपालगञ्ज जानुपर्ने बाध्यता थियो,’ घिमिरेले भने, ‘अहिले त्यो बाध्यता हटेको छ।’
लमहीमै डायलाइसिस सेवा सुरु भएपछि अहिले विस्तारै बिरामीको चाप बढ्न थालेको छ। ‘अहिले हामीसँग मिर्गौलाका धेरै प्रकारका बिरामी छन्। कोही विदेशबाट फर्किएका छन् भने कोही मिर्गौला सानो भएका, कोही एउटा मिर्गौला नै नभएका बिरामीको उपचार गर्दैछौँ,’ डा. गणेश चापागाईंले भने। दैनिक ३० जनासम्मलाई उपचार दिन सक्ने भएकाले बिरामी धेरै भए पनि समस्या नभएको डा चापागाईंले बताए।
डायलाइसिस गरेको खर्च बिरामीले अस्पताललाई दिनु पर्दैन। सरकारमार्फत सिधै अस्पतालमा पुग्छ। तर बिरामीले खाने औषधि र तीन–तीन महिनामा सरुवा रोगबारे बिरामीलाई गर्नुपर्ने जाँचको शुल्क भने बिरामीले नै तिर्नुपर्ने अस्पतालले जनाएको छ।