डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका वडा नं १० जिल्लाकै पहिलो पोषणमैत्री वडा घोषणा गर्ने अभियान थालिएको छ। अमगरगढी नगरपालिका–१० मा रहेको सहश्रलिङ्ग स्वास्थ्य चौकी र वडालाई जेठ महिनाभित्र पोषणमैत्री बनाउन स्वास्थ्यकर्मीहरु लागेका छन्।
अमरगढी नगरपालिका र सुआहारा कार्यक्रमको संयुक्त आयोजनामा विभिन्न मापदन्ड नै निर्माण गरी पोषणमैत्री बनाउन थालिएको हो। अभियानकै क्रममा शोमबार राई गाउँको आमा समूहको बैठकमा कुपोषण देखिएका बच्चाको घरमा कालो टीका लगाएको सुआहारा जिल्ला कार्यक्रम संयोजक धर्मसिह ऐरले बताए।
नियमित गर्भ जाँच नगर्ने, नियमित बच्चाको तौल ननाप्ने, आइरन चक्की नखानेको समाजिक नक्साको घरमा कालो टीका लाग्ने उनले बताएका छन्। सोमबार बसेको आमा समूहको बैठकले एक जनाको घरमा कालो टीका लगाएको सहश्रलिङ्ग आमा समूहकी अध्यक्ष विष्नादेवी भट्टले बताइन्।
कुपोषित हुने बच्चाहरुको संख्यामा कमी आउन थालेपछि जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १० बाट पोषणमन्त्री वडा तथा स्वास्थ्यचौकी घोषणा गर्ने अभियान सुरु गरिने भएको छ। ‘हरेक बार खाना चार’ को अवधारणा अनुसार बच्चाले खाना खाएको छ वा यो वडामा कुपोषण भएका बच्चा छैनन् र हामी कुपोषणबाट बच्चाउन सचेत छौ भने सन्देश दिन यो कार्यक्रको थालनी गर्दै छ।