दाङ- कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहेको छ। भाइरसको संक्रमण देखिएमा वा संकास्पद बिरामीको उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि आइसोलेसन वार्ड स्थापना गरेको छ।
चीनबाट फर्किएका त्यस्ता संकास्पद बिरामी भेटिए आइसोलेसन वार्डमा राखेर उपचार गर्ने र अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन पुर्व सतर्कताका लागि वार्ड स्थापना गरिएको कोरोना हेल्थ डेक्सका संयोजक तथा जनरल प्राक्टिस्नर डा अमित लामगादेले बताए।
प्रतिष्ठानले डा लामगादेको संयोजकत्वमा कोरोना हेल्थ डेस्क टिम पनि निर्माण गरेको छ। टिमको सदस्य सचिवमा डा सदिक्षा योगी छिन् भने अन्य सदस्यहरुमा चिकित्सकहरु तथा ल्याव टेक्निसियनहरु छन्।
‘बिरामी आकस्मिक कक्ष वा ओपिडी जहाँबाट पनि आउन सक्छन्, त्यसैले स्वास्थ्य परिक्षणमा संलग्न सबै चिकित्सकलाई कोरोना भाइरसको आशंका लागेको अवस्थामा आइसोलेसन वार्डमा सिफारिस गर्न भनेका छौँ,’ डा लामगादेले बताए।
वार्डमा १० वटा बेड खाली राखिएको छ। ती वेडमा अन्य बिरामीहरुलाई राखिने छैन।