दैलेख- दैलेखको आठबीस नगरपालिकास्थित राकममा १०० शय्याको ‘ट्रमा सेन्टर ’(अस्पताल) निर्माण हुने भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र आठबीस नगरपालिकाबीच शनिबार सो सम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा अस्पतालको भौतिक संरचना निर्माण तथा सेवा सञ्चालन गर्न नगरपालिका र प्रतिष्ठानबिच समन्वयन र सहकार्य हुनुपर्ने रहको बताइएको छ। नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
द्विपक्षीय सम्बन्ध विस्तार गर्दै स्वास्थ्य सेवा प्रदान गर्न सहकार्य गर्ने, प्रदेश तथा सङ्घीय सरकारसँग समन्वयन गरी दुई पक्षले अस्पताल निर्माण र सञ्चालन गर्ने उद्देश्यका साथ सहकार्य भएको नगरप्रमुख उपाध्यायले जानकारी दिए।
'तत्काल सेवा सञ्चालन गर्न एक्सरे मेसिन, ल्याव लगायतका सामग्री तथा चिकित्सक फिल्ड भत्ताको व्यवस्था नगरपालिकाले गर्नेछ', उनले भने। प्रतिष्ठानले चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने निर्दशक गोसाईले जानकारी दिए।
अस्पतालका लागि नगरपालिकाले १०५ रोपनी जग्गा उपलब्ध तथा विस्तृत परियोजना प्रतिवेदन तयारी सुरु गरेको जनाएको छ। अस्पतालले अछाम, दैलेख, कालिकोटलगायत जिल्लाका नागरिक प्रत्यक्षरूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। प्रतिष्ठानले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस र एमडीजीपी तहका पठन पाठन गर्न आवश्यक भौतिक एवं जनशक्ति तयार गरिसकेको छ। रासस