समाचार

ॐ अस्पतालमा पनि क्यान्सर उपचारमा एक लाखसम्मको सहुलियत

काठमाडौं -  चाबहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा क्यान्सरका बिरामीको उपचार सहुलियतमा लिन सकिने भएको छ। ॐ अस्पतालले क्यान्सर दिवसको अवसरमा सोहि दिनदेखी नेपाल सरकारको विपन्न नागरिक उपचार कोष अन्तर्गत सेवा सुरु गरेको हो।  

सरकारले क्यान्सर सहित आठ प्रकारका कडा खालका रोग लागेका नागरिकलाई उपचारमा सहुलियत प्रदान गर्दै आएको छ। यस्तो सेवा तोकिएको अस्पतालहरूमा मात्र लिन सकिन्छ। विपन्न नागरिकलाई उपचारमा एक लाखसम्मको सहुलियत दिने व्यवस्था छ। अस्पतालले यस्तो सेवा दिए बापत बिरामीको संख्याका आधारमा स्वास्थ्य मन्त्रालयबाट शोधभर्ना लिने गर्छन्। 

सरकारको विपन्न नागरिक उपचार कोष अन्तर्गत निजी अस्पतालतर्फ ॐ अस्पतालले पनि सेवा लिएको हो। अस्पतालका पूर्व अध्यक्ष डा धुर्व शर्मा मुडभरी, प्राध्यापक डा कमल कोइराला र डा प्रकाश तिवारी लगायतले संयुक्त रुपमा सेवा आरम्भको घोषणा गरेका हुन्। 

विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचआ’को तथ्याङ्क अनुसार नेपालमा वर्षेनी ४० हजार क्यान्सरका नयाँ रोगी थपिन्छन्।

ॐ अस्पतालले सरकारको नीतिलाई अहिले मात्रै होइन सँधै साथ दिने बताएको छ। विपन्न नागरिकको उपचार सेवा आरम्भ गर्दै अस्पताल व्यवस्थापनले सरकारको नीतिलाई हमेसा साथ दिने प्रतिवद्धता जनाएको हो। 

प्राध्यापक डा कमल कोइरालाले क्यान्सरको उपचारका नयाँ–नयाँ प्रविधि भित्र्याउने भन्दा पनि क्यान्सरै लाग्न नदिनेमा केन्द्रीत हुनुपर्ने बताए।  त्यसका लागि जनचेतना सबैभन्दा महत्वपूर्ण पक्ष भएको भन्दै डा कोइरालाले ‘क्यान्सर रोकथामको अर्को महत्वपूर्ण उपाय स्क्रिनिङ् कार्यक्रम रहेको जानकारी दिए। 

के हो क्यान्सर ?
क्यान्सर सेलहरुको अनियन्त्रित वृद्धि हो भन्छन्, प्राडा कोइराला। जीनबाट सुरुमा एउटा सेल निस्किएपछि त्यो पछि ‘दुगुना–चौगुना’ बढ्दै जान्छ। अर्को अर्थमा भन्ने हो भने आफ्नै वंश निर्माण गरेर बढ्दै जाने रोग हो, क्यान्सर। यसका विभिन्न चरण हुन्छन्। सुरुमा शून्य अर्थात् जेरो स्टेजमा हुन्छ। त्यो बाट पहिलो स्टेज पुग्दा १३ पुस्तामा वर्गिकरण भइसकेको हुन्छ।

शून्यमा पत्ता लाग्न सक्यो भने क्यान्सर पूर्णरुपमा निको हुन्छ। पहिलो, दोस्रो र तेस्रोसम्म पनि निको हुने प्रवलता रहन्छ। तर, चौथो स्टेजतिर पुगिसकेको भए मान्छेलाई सरल रुपमा प्राण त्याग्ने वातावरण बनाइदिनुपर्छ भन्छन्, प्रा डा कोइराला। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने