अछाम- अछाम जिल्लाको बयालपाटा अस्पतालमा प्रसूति तथा स्त्री रोग र आँखा रोग सम्बन्धी नि:शुल्क शल्यक्रियासहितको शिविर हुने भएको छ। यहि फागुन १९ गते देखी २३ गतेसम्म शल्यक्रिया शिविर संचालन हुने आयोजक महेन्द्र कुवँर प्रतिष्ठानले जनाएको छ।
५ दिन सम्म हुने शिविरमा प्रसूति र स्त्री रोग सम्बन्धी र अन्तिम ३ दिन आँखा सम्बन्धी शिविर संचालन हुने बयालपाटा अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकले बताए। महेन्द्र कुवँर प्रतिष्ठानको आर्थिक सहयोग तथा बयालपाटा अस्पतालको समन्वयमा शिविर संचालन हुन लागेको हो।
प्रसूति शिविरको लागि काठमाडौंको हेम्स अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट वरिष्ठ डाक्टर अतित पौडेल र सुनिता पुन सहितको बिशषज्ञ टोली आउने छन् भने आँखा शिविरको लागि गेटा आँखा अस्पतालको विशेषज्ञ टोली आउने बताइएको छ।
स्त्री रोगमा पाठेघर खस्ने समस्या भएका महिला, बृद्ध महिला तथा अन्य महिलाको पाठेघर सम्बन्धी रोगको शल्यक्रिया मार्फत उपचार हुने बताइएको छ।
यस्तै आँखा शिविरमा सबै प्रकारका आँखा सम्बन्धी रोगको उपचार हुने समेत जनाइएको छ।
प्रसुती सम्बन्धी विभिन्न रोग भएका महिलाहरुलाई लक्षित गर्दै शल्यक्रिया शिबिर आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । यस क्षेत्रमा प्रसुती सम्बन्धी धेरै समस्या भएकाले उपचारमा सहजता होस भन्ने हेतुले निशुल्क शल्यक्रिया शिबिर आयोजना गर्न लागिएको अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकले बताउनु भयो ।
स्त्रीरोग सम्बन्धी समस्या भएका महिलाहरुले एक हप्ता पहिले नै अस्पतालमा आएर शल्यक्रिया गराउनु पर्छ या पर्दैन भन्ने अवस्थाको बारेमा जानकारी लिन आग्रह समेत गरिएको छ ।
यस्तै आँखाको उपचारको लागि फागुन २१ गते देखि आउन सकिने बताइएको छ।
सोही समयमा अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठक पनि आउने भएकाले हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीले समेत उपचारको लागि अस्पताल आउन सकिने बयालपाटा अस्पतालले जनाएको छ।