काठमाडौं- स्वास्थ्य जनताको अधिकार हो कि नाफामुखी व्यापार? यही प्रश्न र मुद्दालाई केन्द्रमा राखेर पिपुल्स हेल्थ मुभमेन्ट नेपालले सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम पिपुल्स हेल्थ मुभमेन्ट र रिसोर्स ग्रुप फर वुमन एन्ड हेल्थ (एसएएमए)को सहकार्यमा सञ्चालन गरिएको थियो।
२०७६ फाल्गुण ५ देखि ११ गतेसम्म काठमाडौंमा सञ्चालित अभिमुखीकरणमा स्वास्थ्य क्षेत्रका विभिन्न विधामा कार्यरत दक्षिण एसियाका ६ देश (भारत, भुटान, पाकिस्तान, बंगलादेश, श्रीलंका र नेपाल) का ३५ जना युवा अभियन्ताहरुको सहभागिता थियो।
कार्यक्रममा स्वास्थ्यमा विद्यमान विभेद घटाउन विभिन्न देशहरुले अवलम्बन गरेको स्वास्थ्य नीति र आर्थिक व्यवस्थापन साँच्चै नै जनताको हितमा भए–नभएकोबारे आलोचनात्मक विश्लेषण गरिएको थियो।
यसैगरी दक्षिण एसियाको स्वास्थ्य नीति र कार्यक्रमहरुको तुलनात्मक अध्ययन गर्दै स्वास्थ्यमा सबैको पहुँच अभिवृद्घिका लागि रोगमा मात्र केन्द्रित कार्यक्रम भन्दा पनि जनताको सामाजिक, आर्थिक र राजनीतिक अवस्था जसले स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पार्छ, तिनलाई पनि बहुक्षेत्रीय ढङ्गबाट सम्बोधन गरिनुपर्ने निर्क्योल गरिएको थियो। यस समग्र अभ्यासहरुमा विषय विज्ञ मात्र होइन, जनता आफैं पनि सक्रिय हुनुपर्ने र युवा अभियन्ताहरुले यस प्रक्रियालाई आआफ्नो स्थानबाट सहजीकरण गर्नुपर्ने विषयहरुबारे कार्यक्रममा बहस गरिएको थियो।