धादिङ- दृष्टि आई केयर सिस्टमले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण एवं चस्मा सहयोग कार्यक्रमको घोषणा गरेको छ।
जायसको सहयोगमा दृष्टि आई केयर सिस्टम र आलोका भिजन कार्यक्रमसँगको साझेदारीमा विद्यार्थीहरुलाई निःशुल्क चस्मा वितरण गरिने छ।
कार्यक्रमको सुरुवात धादिङको गल्छी गाउँपालिका भित्रका ३८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत १६ वर्ष मुनिका विद्यार्थीबाट गरिने केयर सिस्टमका कार्यकारी प्रमुख डा भाइराजा श्रेष्ठले जानकारी दिए।
निःशुल्क आँखा परीक्षण गरी चस्मा प्रयोग गर्नुपर्ने विद्यार्थीहरुका निम्ति निःशुल्क रुपमा चस्मा उपलब्ध गराइने संस्थाले जनाएको छ।
आँखा परीक्षणको पहुँचबाट वञ्चित सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सेवा दिनुका साथै आर्थिक अभावले चस्मा प्रयोग गर्ने अवसरबाट वञ्चित विद्यार्थीहरुलाई निःशुल्क चस्मा उपलब्ध गराई बाल अन्धोपन निवारण गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।
आलोका भिजन कार्यक्रमका प्रमुख डा प्रेम जीतले केयरसँगको साझेदारीमा निःशुल्क आँखा परीक्षण र चस्मा सहयोग कार्यक्रम मार्फत विद्यार्थीहरुको आँखा सम्बन्धी समस्याको समाधान गरी उनीहरुको शिक्षा हासिल गर्ने अभियानमा मद्दत गरिने बताए।
आलोका भिजन कार्यक्रम मार्फत विद्यार्थीका साथै समुदायलाई समेत लक्षित गरी अत्यन्त सहुलियत मूल्यमा चस्मा उपलब्ध गराइने उनले बताए।
गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले मोबाइल, कम्प्युटर एवं टेलिभिजन लगाएतका डिभाइसको अत्यधिक प्रयोगले बालबालिकाको आँखामा प्रतिकूल असर परिरहेको अवस्थामा निःशुल्क आँखा परीक्षण एवं चस्मा वितरण कार्यक्रम सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका निम्ति ठूलो राहत हुने बताए।
'पाइलट' कार्यक्रमको रुपमा गल्छी गाउँपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरिए पनि भविष्यमा जायसको सहयोगमा देशभरिका सामुदायिक विद्यालयमा अध्ययनरत १६ वर्ष मुनिका विद्यार्थीका लागि नै निःशुल्क आँखा परीक्षण र चस्मा वितरण कार्यक्रम अघि बढाइने दृष्टि आई केयर सिस्टमका कार्यकारी प्रमुख डा श्रेष्ठले जानकारी दिए।
आँखामा ठूलो समस्या नपरी आँखा परीक्षण नगर्ने प्रबृत्तिले गर्दा बालअन्धोपन बढ्दै गएको र यस कार्यक्रमले सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अनिवार्य आँखा परीक्षणले विद्यार्थीहरु लाभान्वित हुने दृष्टि विशेषज्ञ अशेष आचार्यले बताए।
दृष्टि आई केयरले पाँच वर्ष मुनिका बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्दै आएको छ।
निजी क्षेत्रबाट सञ्चालित दृष्टिले झापा, वीरगन्ज, धादिङको गल्छी, नुवाकोट र काठमाडौंको कलंकी, बानेश्वर, चाबहिलका साथै जमलबाट समेत सेवा प्रदान गरिरहेको छ।