काठमाडौं- मध्यपूर्वी देशमा नर्स तथा डाक्टरहरुका लागि रोजगारीको अवसर आएको छ। ओमान, बहराइन, कुबेत, दुवई, कतार लगायतका मध्यपूर्वी देशहरुमा नर्स तथा डाक्टरलाई रोजगारको लागि अवसर आएको हो।
मनास्लु इन्टरनेसनलले उक्त अवसर ल्याउन लागेको हो। मनास्लु इन्टरनेसनलले ती देशहरुमा एक सय जनाभन्दा बढी नर्सलाई रोजगारको लागि पठाइसकेको छ भने केही डाक्टरहरु पनि ती देशमा गएर स्वास्थ्य सेवा दिइरहेका छन्।
मनास्लु इन्टरनेसनलका प्रमुख बालकृष्ण श्रेष्ठले मनास्लु इन्टरनेसनल मार्फत गएका ती नर्सहरुले एक लाखदेखि तीनलाख रुपैयाँसम्म कमाइरहेको जानकारी दिए। श्रेष्ठले नर्स तथा डाक्टरहरुको प्रमुख गन्तव्य अमेरिका, युरोप, अष्ट्रेलिया रहेको भन्दै अब ती देशमा कमाई हुने पैसा दुवई, कतार, बहराइन, ओमान, साउदी अरब, कुबेत लगायतका देशमा पनि कमाई गर्न सकिने जानकारी दिए।
श्रेष्ठले मध्यपूर्वका देशहरुमा डाक्टर तथा नर्सको अनुभव तथा पढाई अनुसार नेपालको भन्दा पाँच गुणा बढी तलब हुने बताए।
पिसिएल गरेका नर्सको तलब न्यूनतम ९० हजारदेखि डेढ लाखसम्म हुने भन्दै उनले बिएससी पास गरेका नर्सले दुई लाख कमाइरहेको बताए। एमबिबिएस पास गरेका डाक्टरको सुरुवाती तलब २ लाख पचास हजार भएको उनले बताए।
एमडी गरेका डाक्टरको हकमा भने १२ लाखसम्म तलब हुने जानकारी दिँदै उनले मध्यपूर्वी देशहरुमा जान चाहने नर्स तथा डाक्टरहरुको लागि आवश्यक कागजात बनाउने बाहेक अन्य खर्च नलाग्ने बताए।
श्रेष्ठले युरोप, अमेरिका, क्यानडा गएका नर्सहरु नफर्कने गरेको भन्दै मध्यपूर्व गएका डाक्टर र नर्स फर्केर पुनः देशको सेवा गर्ने बताए।
मध्यपूर्वी देशमा भने पिआर लिन नपाइने र वर्क परमिट अवधिभर मात्र बसेर फर्किने भएकाले पनि केही सिप सिक्ने र सम्मानजनक आम्दानी गर्ने हिसाबले निकै राम्रो रहेको उनको भनाइ थियो।
‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन काठमाडौंमा
यसैबीच फागुन १७ गते शनिबारका दिन ‘मेडिकल करिअर इन मिडिल इस्ट’ सम्मेलन हुने भएको छ।
सम्मेलनका संयोजक सुरेश प्रधानले काठमाडौंमा हुन लागेको सम्मेलनमा मध्यपूर्वी मुलुकका चिकित्सक, नर्स, डाक्टर गरी पाँच सय जना सहभागी हुने जानकारी पनि दिए। उनले सम्मेलनबाट ती देशमा भइरहेको स्वास्थ्य क्षेत्रको विकास, विस्तार, अवसर लगायतका बारेमा छलफल हुने छ।