एजेन्सी– चीनको कोरोना भाइरस (कोभिड १९) प्रभावित वुहानबाट भारतले आफ्ना नागरिकको उद्धार गरेको छ । वुहानबाट ७६ जना भारतीय नागरिक र अन्य जना नागरिक गरी १ सय १२ जनाको बिहिवार उद्धार गरेको हो।
भारतीय विदेशमन्त्री डा. एस जयशंकले ट्वीट गर्दै १ सय १२ जनाको वुहानबाट उद्धार गरेको जानकारी दिएका छन्।
भारतीय नागरिक बाहेक बंगलादेश, म्यानमार, माल्दिभ्स, चीन, दक्षिण अफ्रिका, अमेरिका र मदागास्करका नागरिकलाई पनि भारतले उद्धार गरेको डा. जयशंकरले ट्वीटमा उल्लेख गरेका छन्।
पछिल्लो समय चीनको तुलनामा युरोप, मध्य पूर्व र अन्य राष्ट्रमा कोरोनाको संक्रमण तिव्र गतिमा फैलिरहेको छ। ब्राजिल, पाकिस्तान, स्वीडेन, नर्भे, ग्रीस, रोमानिया र अल्जेरियामा पहिलो पटक कोरोनाको संक्रमण पुष्टि भएको छ।
अमेरिकामा हालसम्म ५९ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये अधिकांश संक्रमित जापानको डायमण्ड प्रिन्सेज क्रुज जहाजबाट फिर्ता गरिएको अमेरिकी नागरिक छन्। अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले सबैलाई शान्त रहन आग्रह गरेका छन्। उनले भने, कोरोना भाइरसको खतराको सामना गर्न अमेरिका धेरै धेरै तयार छ।
दक्षिण कोरियामा ३ सय ३४ नयाँ संक्रमित फेला
दक्षिण कोरियामा बिहिवार मात्र कोरोना भाइरसका थप ३ सय ३४ संक्रमित भेटिएका छन्। यो संगै दक्षिण कोरियामा संक्रमितको संख्या १ हजार ५ सय ९५ पुगेको कोरिया सेन्टर्स फर डिजिज एण्ड प्रिभेन्सन्स (केसीडीसी) ले जनाएको छ।
बिहिवार मात्र कोरोनाका कारण दक्षिण कोरियाको डिएगुमा एक व्यक्तिको मृत्यु भएको आशंका गरिएकोछ । यद्यपि यो केसीडीसीले पुष्टि गर्न बाँकी छ।
चीनमा एकै दिन ४ सय ३३ संक्रमित
कोराको उद्गमस्थल चीनमा बुधवार मात्र ४ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि मंगलवार ४ सय ६ जनामा संक्रमण भेटिएको थियो।
यो संगै चीनमा कोरोना संक्रमितको संख्या ७८ हजार ४ सय ९७ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। बुधवार नै २६ जनाको मृत्यु भएको छ।
यो संगै मृतकको संख्या २ हजार ७ सय ४४ पुगेको छ ।