काठमाडौं- कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा निसन्तान दम्पतिका लागि ‘नेपाल नेशनल फर्टिलिटी’ सेन्टर स्थापना भएको छ।
बुधबार राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले उक्त सेन्टर उद्घाटन गर्दै निसन्तान हुँदाको अनुभव पीडादायी हुने बताउँदै पुरुष या महिलामा हुने बाँझोपनको समस्याले पारिवारिक बिग्रह ल्याउने गरेको बताए।
कार्यक्रममा हस्पिटलका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले निसन्तान दम्पतिका लागि सन्तान प्राप्तिको उपचार सर्वसुलभ बनाउने उद्देश्यले फर्टिलिटी सेन्टर स्थापना गरेको जानकारी दिए।
अस्पतालकी फर्टिलिटी सेन्टर प्रमुख डा निकिता ढकालले नेपालमा हरेक ६ जोडी मध्ये एकजोडी निसन्तानको समस्याबाट प्रभावित रहेको बताईन्।निसन्तानको समस्याले डिप्रेसन, एनजाइटी, पारिवारिक बिग्रह तथा सामाजिक वहिष्करण जस्ता समस्या समेत निम्त्याउने गरेको ढकालले बताईन् ।