नेपाल चिकित्सक संघको २८औं अखिल नेपाल चिकित्सक सम्मेलनको सुअवसरमा नेपाल चिकित्सक संघको नव निर्वाचित अध्यक्षका हैसियतले आफ्ना धारणा राख्न पाएकोमा खुशी व्यक्त गर्दछु।
यस सम्मेलनको मुख्य सन्देश ‘हेल्थ सिस्टम इन फेडेरल नेपाल : अपरच्युनिटीज एन्ड च्यालेन्ज’ रहेको छ। संघीय गणतान्त्रिक नेपालको परिवेशसँगै नेपालको चिकित्सा शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा अपनाउनु पर्ने संरचनागत ढाँचालाई मनन गरी नीति निर्माण तहमा मार्गदर्शन पुगोस् भन्ने हेतुले यो सन्देशको तर्जुमा गरिएको छ। आशा छ, समुद्घाटन समारोह पछिको बैज्ञानिक सत्रहरुमा सम्पूर्ण चिकित्सकहरुले अनुसन्धानात्मक तवरमा सम्मेलनको सन्देशलाई चरितार्थ तुल्याउनु नै हुनेछ भन्ने मेरो दृढ विश्वास रहेको छ।
संघका संस्थापहरुको भूमिकालाई स्मरण गर्दै सात दशकको अवधिमा संस्थाको नेतृत्वमा रहेर वा विभिन्न तवरले संघलाई सम्पूर्ण चिकित्सकहरुको छाता संगठनका रुपमा स्थापित गराउन योगदान पुर्याउने आदरणिय अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछु।
देशमा उत्पन्न विविध समस्या र संक्रमणकालिन परिस्थितिको भागेदार भई रहेका अवस्थामा समेत देशको विभिन्न कुना काब्चामा रहेर अनेकन प्रतिकुलताका बीचमा निरन्तर बिरामीको सेवामा समर्पित हुनु भएका सम्पूर्ण चिकित्सक साथीहरुलाई हार्दिक अभिवादन गर्न चाहान्छु।
नेपालमा भएको ऐतिहासिक परिवर्तनका हामी चिकित्सकहरुपनि बाहकको रुपमा अगाडी आएको यहाँहरुलाई विदितै छ। संकटका बेलामा पनि आफ्नो पेशागत धर्मलाई शिरोधार्य गर्दै चिकित्सकको हकहित र अधिकारका लागि मात्रै होइन, जनअधिकार र लोकतन्त्रका लागि भएका शान्तिपूर्ण आन्दोलनमा समेत आफूलाई अग्रमोर्चामा उभ्याएको हाम्रो गरिमामय इतिहासलाई स्मरण गर्नु सान्र्दभिक हुन्छ।
नेपाल चिकित्सक संघकै पहलकदमीका कारण विगतमा स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा धेरै महत्वपूर्ण उपलब्धीहरु भएका छन्। कतिपय उपलब्धी अझै कार्यान्वयन हुन बाँकी छन् भने विगतमा चिकित्सक संघले उठाएका थुपै्र मुद्दालाई निष्कर्षमा पु¥याउनु पर्ने चुनौती हामीसामू यथावत नै छ। अर्कोतिर हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणपश्चातको परिवर्तित राजनीतिक परिस्थितिसँगै स्वास्थ्यमा नीतिगत, कानुनी र संरचनागत बदलाब हुँदै गर्दा स्वभाविक रुपमा त्यसले हामी चिकित्सकहरुलाई प्रभावित पारेको कुरा अवगत गराउन चाहान्छु।
चिकित्सक संघले विगतमा उठाएका मुद्दालाई ठोस निष्कर्षमा पु¥याउन, गुणस्तरीय चिकित्सा शिक्षाका लागि दबाब सिर्जना गर्न, चिकित्सकको हक, हित र वृत्तिविकासका लागि पहलकदमी लिन तपाई सम्पूर्ण चिकित्सकसाथीहरुले मेरो नेतृत्वमा रहेको टीमलाई अमूल्य मतदान गरी गहन जिम्मेवारी सुम्पनु भएको छ। तपाईहरुले म र मेरो टीममाथी गरेको विश्वास, भरोसा र आशाका कारण मैले चिकित्सक संघलाई तपाईहरुसामू गरेका प्रतिबद्धताहरुलाई पुरा गर्नका निमित्त दत्तचित्त भई लाग्ने र सम्पूर्ण चिकित्सकहरुको भावना र मर्म अनुरुप चिकित्सक संघलाई परिवर्तन गराउने चुनौतीलाई हरपल हरदिन ताजा र बोझिलो रुपमा स्वीकार गर्दै विशेष रणनीति लिएर तपाईहरुसँगको समन्वयात्मक, सहयोगात्मक र सहकार्य गर्दै अगाडी बढ्ने प्रण गर्दछु।
स्वास्थ्य क्षेत्र ज्यादै नै संवेदनशिल र गरिमामय क्षेत्र हो । यसका लागि राज्यले पृथक शैलीबाट सोच्नु पर्दछ र नेपाल सरकारले अंगिकार गर्ने नीति र नियम समेत वर्तमान समयसँग मेल खाने वा समय सान्दर्भिक हुन जरुरी भई सकेको तथ्य सर्व विदितै छ। सम्पूर्ण चिकित्सकहरुको छाता संगठनको रुपमा स्थापित यस नेपाल चिकित्सक संघले नेपाल सरकार र सरोकारवाला निकाय समक्ष समन्वयकारी भूमिका निर्वाह गर्दै भावी दिनमा चिकित्सक संघलाई सम्पूर्ण निजी, प्राइभेट तथा सरकारी स्वास्थ्य संस्था र मेडिकल कलेजहरुको अभिभावकको रुपमा स्थापित गराउन कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता यहाँहरुमाझ व्यक्त गर्न चाहान्छु। देशभरका चिकित्सकहरुको अभिभावकको रुपमा स्थापित नेपाल चिकित्सक संघसँग नेपाल सरकार तथा सरोकारवाला निकायले हातेमालो गरी समग्र चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय, विश्वसनीय र पारदर्शि बनाउने अभियानमा समन्वयात्मक भूमिका निर्वाह गर्दै र सम्पूर्ण स्वास्थ्य संस्थाहरुका विभिन्न मागहरुलाई नेपाल सरकार तथा अन्य सरोकारवाला निकायहरुमा पटक–पटक पेश गरेको र त्यसका उपलब्धी तथा कार्यान्नवयका चुनौतीहरुबाट हामी पूर्ण जानकार छौं। त्यसैले हामीले उठाएका जायज मागहरुको कार्यान्वयनका लागि ठोस रुपमा अगाडी बढी तपाईहामीले भोग्दै आएका यावद समस्यालाई चिर्ने पहल गर्ने नै छौं।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरीयताका लागि संस्थागत रुपमा उजागर गरेका कतिपय विषयहरुलाई गम्भिरतापूर्वक लिई त्यसको यथोचित कार्यान्वयनमा लाग्न सकेको खण्डमा मात्र नेपाल सरकारले अंगिकार गरेका स्वास्थ्य नीति तथा कार्यक्रमहरुको भावना र मर्मलाई यथोचित कार्यान्वयन गर्न सकिन्छ भन्ने मैले विश्वास लिएको छु।
नेपाल चिकित्सक संघले उठाउँदै आएका जायज मुद्दाहरुलाई नेपाल सरकारको सम्बोधन मार्फत केहि उल्लेख्य कार्यहरु समेत भइसकेका छन्, र केहिको कार्यान्वयन हुन बाँकी रहेको अवस्था छ। त्यसैले पनि मैले स्वास्थ्य क्षेत्रको संवेदनशिलता र नेपाल सरकारले निर्माण गर्ने स्वास्थ्य नीति तथा कार्यक्रमलाई अझ बढी चासो र सक्रियता देखाउँदै राज्यले लिने नीति तथा रणनीतिहरुले सबैलाई स्पष्ट र उल्लेख्य योगदान पु¥याउन सकोस् भन्ने चाहाना रहेको छ। म वाचा गर्दछु नेपाल सरकार, निजी तथा प्राइभेट कलेज, अस्पताल, नर्सिङहोम बीचको दुरीलाई कम गर्दै समाजमा चिकित्सकहरुप्रति जुन इज्जत, प्रतिष्ठा छ त्यसलाई अझ माथी उठाउँदै चिकित्सकहरुको पूर्ण हकहित र सुरक्षाका लागि विशेष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु। त्यसका साथै नेपाल चिकित्सक संघले नागरिक, स्वास्थ्य संस्था र स्वास्थ्य मन्त्रालय बीचको पुलको रुपमा कार्य गर्दै नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले अंगिकार गरेको नीति एवं रणनीतिहरुलाई यथोचित कार्यान्वयन गराउन विशेष पहल गर्नेछु।
स्वास्थ्यजस्तो अनिवार्य आवश्यकताको क्षेत्र तथा संवेदनशील संस्थामा दिनरात खटिरहेका चिकित्सकहरूमा बारम्बार त्रास, धम्की, चन्दाआंतक, अपहरण जस्ता आपराधिक क्रियाकलाप तथा दण्डहिनताले प्रश्रय पाउने प्रवृत्ति आजको स्थिति सम्म बढ्दो गतिमा छ। अहिले यी कुरा पढिरहँदाको अवस्थामा समेत मेरा सहकर्मी चिकित्सक साथी तथा स्वास्थ्यकर्मीहरू आतङ्क तथा असुरक्षाकाबीच जनतालाई सेवा गर्न बाध्य हुनुहुन्छ। सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसात गर्दा गर्दै पनि हामीहरुमाथी पर्ने ज्यादै नै अस्वाभाविक र तनावपूर्ण वातावरणको न्यूनिकरण हुन नसक्दा हामीलाई कहिले काँही ज्यादै नै गम्भिर र चिन्तित हुनु परेका ज्वलन्त उदाहरणहरु यहाँहरुलाई बताइ रहनु पर्दैन। त्यसैले यसको उचित समाधानका लागि हामीले मेहनत गरी निर्माण गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई परिमार्जन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई बिनाधरौटी हिरासत (जेल विथआउट बेल)को प्रावधान सहितको मन्त्रीपरिषद्मा विचाराधिन संशोधन यथासिघ्र पारित गराउन सरकारलाई अनुरोध गर्दछु।
मुलुकी अपराध संहिता ऐनको विवादास्पद इलाज सम्बन्धी दफा नेपाल चिकित्सक संघको आन्दोलनको परिणाम स्वरुप संशोधन भई प्रमाणाीकरण भई सकेको अवस्थामा उक्त प्रावधान अक्षरशः कार्यान्वयनका लागि लागि पर्नेछौं। उक्त ऐनका कारण चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा पारेको प्रभावबाट कोही पनि चिकित्सक अनविज्ञ हुनु हुन्छ भन्ने मलाई लाग्दैन। राज्यको नीति, नियम र ऐनहरुको पालना गर्दा हामीहरुले भोग्नु पर्ने नियती त्यसबाट समग्र स्वास्थ्य सेवालाई पार्ने असर तपाई हाम्रो मानसपटलमा झझल्कीरहने नै छ। यद्यपी हामी नेपाल सरकारले लागू गरेका ऐन नियम, कानूनको शिरोधार्य गर्दै हाम्रो कर्मलाई निरन्तरता दिने कुरामा कत्ति पनि बिचलित हुने छैनो भन्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहान्छु।
हामी लोकतान्त्रिक पद्धतिलाई अनुशरण गर्दै चुनावी मैदानमा तपाईहरुबीचमा आईरहँदा हामीले धेरै बिषयवस्तुहरुमा प्रतिबद्धता गरेका थियौं। म ती सबै प्रतिबद्धतालाई दोहोर्याई तपाईहरुको अमूल्य समय खर्चन चाहान्न। तर हामीले गरेका प्रतिबद्धताहरुको अक्षरशः कार्यान्वयनका लागि आजैको मितिदेखि विशेष रणनीति तर्जुमा गरेर हामी कार्यान्वयनको तहमा लैजाने प्रण तपाईहरुमाझ गर्दछु।
मूलतः हामीले चिकित्सक संघलाई निम्न लिखित मुख्य बिषयवस्तु भित्र रही हाम्रो रणनीति योजनालाई अगाडी बढाउन तपाई सम्पूर्ण चिकित्सक साथीहरुसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै अगाडी बढ्ने छौं।
१) चिकित्सकहरुको पेशागत सुरक्षा र वृत्ति विकास
२) गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा
३) राष्ट्रिय नीति, योजना निर्माणमा योगदान र अन्तराष्ट्रिय सम्बन्ध
४) सरकारी–निजी साझेदारिताको बिषय
५) संघको संस्थागत विकास र सांगठनिक पुनः संरचना
फेरी पनि मेरो नेतृत्वको टीमलाई आफ्नो अमुल्य मत दिई विजयी बनाउँदै चिकित्सक संघका विविधि जिम्मेवारीहरु सुम्पिनु भएकोमा सम्पूर्ण संघका मतदाता, शुभचिन्तकहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।
-(नेपाल चिकित्सक संघको २८ औं अखिल नेपाल चिकित्सक सम्मेलनमा डा कार्कीले व्यक्त गरेको मन्तव्य)