काठमाडौं- प्रदेश १ अन्तर्गतका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत पाँच जना आयुर्वेद चिकित्सकलाई दिइने क्षारसूत्र सम्बन्धी ४२ दिने क्षमता अभिवृद्धि तालिम आयुर्वेद चिकित्सालय नरदेवीमा सुरु भएको छ।
यही फागुन १८ गतेदेखि सुरु भएको सो तालिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, प्रदेश १ धनकुटाले संयोजन गरेको छ।
तालिमको उद्घाटनका क्रममा प्रदेश १ स्वास्थ्य तालिम केन्द्रका निर्देशक रोहितकुमार पाण्डेले तालिम पश्चात् आयुर्वेद चिकित्सकहरुले प्रदेश १ मा लागू भएको विस्तारित क्षारसूत्र सेवालाई प्रभावकारी बनाउन सहयोग पुर्याउने बताए।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुका महानिर्देशक डा वासुदेव उपाध्यायले अहिलेसम्म संघीय सरकारले सञ्चालन गर्न नसकेको तालिम प्रदेश १ सरकारको अग्रसरतामा हुनु खुसीको कुरा भएको बताए। उनले यस्ता तालिमले आयुर्वेदका विस्तारित सेवा कार्यक्रमहरु थप जनमुखी र प्रभावकारी हुने उल्लेख गरे।
आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा प्रदीप केसीले आयुर्वेद चिकित्सासँग सम्बन्धित तालिम हुनु आयुर्वेद चिकित्सा क्षेत्रमा कार्यरत सबैलाई प्रेरणामूलक काम भएको बताए। तालीम कार्यक्रमलाई गुणस्तरीय र प्रभावकारी बनाई सफलताका साथ सम्पन्न गर्न चिकित्सालयले हरसम्भव प्रयास गर्ने वचनवद्धता समेत उनले जाहेर गरे।
चैत ३० गतेसम्म चल्ने यस क्षारसूत्र तालिम कार्यक्रममार्फत विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त क्षारसूत्र चिकित्सा पद्धतिको सेवा जिल्लास्तरका सेवाग्राहीले समेत सर्वसुलभ रुपमा पाउने छन्। तालिमप्राप्त चिकित्सकले पाइल्स, फिस्टुला, फिसर, पाइलोनाइडल साइनस आदिको सरल र सफल उपचार गर्न सक्ने क्षमता हासिल गर्नेछन्।