बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका कोरोना भाइरसको जोखिम रोक्ने पूर्वतयारीमा जुटेको छ। यसै सन्दर्भमा नगरपालिकाले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीसँग छलफल गरेको छ।
पूर्वतयारीका कामलाई व्यवस्थित बनाउन नगरपालिकाले क्रिमसन अस्पताल र नगरभित्रका सरकारी स्वास्थ्य संस्थाका इञ्चार्जहरुसँग अन्तक्र्रियात्मक बैठक गरेको हो। बैठकले क्रिमसन अस्पतालमा कार्यरत फिजिसियन डा कृष्णचन्द्र गोदारको संयोजकत्वमा स्वास्थ्यकर्मीहरु सम्मिलित पूर्वतयारी समन्वय समिति गठन गरेको छ।
समितिले कोरोनाबाट बच्ने उपायका सन्दर्भमा जनचेतना अभिवृद्धि, नियन्त्रणका उपाय अबलम्वन र कोही संक्रमित भएमा गरिने उपचारको बारेमा संघीय र प्रदेश सरकारसँग समन्वय गर्ने लगायतका काम गर्ने छ।
बैठकले आम सञ्चारमाध्यम, सामाजिक सञ्जाल, जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, विद्यालय, टोल विकास संस्थामार्फत कोरोना नियन्त्रणका उपायको बारेमा सबैलाई जानकारी गराउने, स्वास्थ्य संस्थामा आवश्यक सर्जिकल तथा मेडिकल उपकरण, औषधिको व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ।