धनगढी- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले गुणस्तरीया स्वास्थ्य सेवा आम नागरिकसम्म पुर्याउन नसकिएको स्वीकार गरेका छन्।
भौगोलिक जटिलता, कर्मचारी, स्रोतसाधन अभाव लगायतका कारण जनताले सहज र सरल रुपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन्’ सोमबार सेती प्रादेशिक अस्पतालको निरीक्षण गर्दै उनले भने, ‘सरकारले स्वास्थ्यका समस्याका समाधान गर्दै आम नगरिकमा गुणस्तरीय सेवा प्रदान गर्न पहल गरिरहेको छ।’
उनले जनताको स्वास्थ्यप्रति सबैले जवाफदेही भएर काम गर्नुपर्ने बताए। ‘स्वास्थ्य क्षेत्र जनतास“ग प्रत्यक्ष रुपमा जोडिएको विषय हो,’ उनले भने, ‘तपाईं (कर्मचारी, स्वास्थ्यकर्मी) ले इमान्दार भएर सेवा दिनुपर्छ।’
मन्त्री ढकालले सरकारले एक प्रदेश एक अस्पताल एक प्रतिष्ठानको नीति अवलम्बन गरेको जानकारी दिए। उनले सुदूरपश्चिम प्रदेशको डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई सुविधा सम्पन्न अस्पताल र गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा विकास गर्न पहल भइरहेको बताए।
उनले खटाइएका स्थानमा काम गर्न नजाने स्वास्थ्यकर्मीलाई कारबाहीको नीति अघि बढाइएको बताए । उनले भने, ‘पहिलो पटक सचेत, दोस्रो पटक लिखित जानकारी दिइन्छ, अझै नमाने कामबाट विदाइ गरिन्छ।’