काठमाडौं- ६० प्रतिशत श्रवण समस्या रोकथाम गर्न सकिने चिकित्सकले बताएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नाक, कान, घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले श्रवण सम्बन्धी ६० प्रतिशत समस्या उपचार गरेर रोकथाम गर्न मिल्ने भएकोले बहिरोपनबाट जोगाउन सकिने बताए।
श्रवणसम्बन्धी जनचेतना बढाई रोकथाम गर्न सकिने समस्याको उपचार गर्न सके राष्ट्रका लागि समेत राम्रो हुने उनी बताउँछन्।
जन्मेपछि पहिलो पटक खोप लगाउन जाँदा नै सुनाइ जाँच गर्न सकेमा सम्भावित बहिरोपन कम गर्न सकिने चिकित्सकको भनाइ छ।
डा न्यौपानेले भने, ‘बच्चाको बोल्ने अवस्थामा पनि नबोलेपछि कोही बच्चा ढिला बोल्छन् भनेर वास्ता गर्दैनौँ तर ढिलासम्म नबोल्नुको कारण सुनाइमा समस्या भएर हुनसक्छ। त्यसैले बच्चाको श्रवण जाँच गराउनुपर्छ।’
विश्व श्रवण दिवसको अवसरमा स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाद्वारा आयोजित कार्यक्रममा डा न्यौपाने हरेक ३ जनामध्ये एक जना केही न केही सुनाइ सम्बन्धी समस्या भएको जानकारी दिए।
‘दक्षिणपूर्वी एसियामा हेर्ने हो भने बच्चा, युवा, प्रौढ वा वृद्ध हरेक उमेर समूहका मानिसमा सुनाइसम्बन्धी समस्या अन्य देशमा भन्दा बढी छ। अहिलकै रफ्तारमा सुनाइ सम्बन्धी समस्या बढ्दै जाने हो भने सन् २०५०मा विश्वका एक तिहाइमा समस्या देखिने आकँलन गरिएको छ,’ उनले भने।
नेपालमा नाक कान र घाँटीसम्बन्धी विशेषज्ञ चिकित्सक अभाव रहेको छ। नेपाल इएनटी सोसाइटी अफ नेपालका अनुसार अहिले एक जना डाक्टरले डेढलाख बिरामी हेर्नुपर्ने अवस्था छ।
‘श्रवणका लागि जीवन’भन्ने नाराका साथ सरकारले पहिलो पटक विश्व श्रवण दिवस मनाएको छ। बृहत रुपमा कार्यक्रम गर्ने पूर्वतयारी भएपनि कोरोना संक्रमण रोकथाममा केन्द्रित रहनु परेकाले सानो समूहमा कार्यक्रम गरेको बताइएको छ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाको आँखा, नाक, कान,घाँटी तथा मुख स्वास्थ शाखाले औपचारिक कार्यक्रम गरेको हो।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सरकारले कान स्वास्थ्य सम्बन्धी जनचतेनाका बढाउनु आवश्यक भएको बताए। उनले ६० प्रतिशत रोकथाम गरेर बहिरोपनबाट बचाउन सकिने तर्फ सरकारले काम गर्न आवश्यकको बताए। त्यसका लागि उनले जनशक्ति बढाउनुका साथै अस्पतालको स्तरोन्नतिका काम गर्ने बताए।
उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले उपत्यकामा हर्न बजाउन निषेधले श्रवण समस्या कम गर्न सहयोग पुग्ने अपेक्षा राखेको बताए।
गाडीबाट निस्कने चर्को आवाजले सुनाइमा समस्या पर्ने भएकोले ठूलो आवाज निस्कने मोटरसाइकललाई समेत कारबाही गर्ने गरेको बताए। हर्न अभियान देशव्यापी बनाउन पहल गर्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘ट्राफिक महाशाखामा सबैभन्दा ठूलो हर्न बजाउने बाइकबारे धेरै उजुरी पर्ने गरेको छ। सामान्य हर्न बजाउने बाइकलाई हामी त्यही कारबाही गरेर छोड्न जसले टोल नै थर्काउने हर्न बजाएर कुदाउँछन् उनीहरुलाई कार्यालयमै ल्याएर १५/२० हजार जरिवाना गरेर छोड्छौँ।’
चर्को आवाजले समाजको शान्ति सुरक्षा मात्र होइन आफ्नै स्वास्थ्यमा समेत असर पर्छ भन्ने महसुस गरी हर्न सकेसम्म नबजाउन, होहल्ला गर्ने कार्य बन्द गर्न वा कम गर्न उनले अनुरोध गरे।
स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ शाखाका प्रमुख डा प्रकाश बुढाथोकीले विद्यार्थीलाई विद्यालयमा भर्ना गर्दा कानको पनि जाँच गर्ने प्रथा बसाल्नुपर्नेमा जोड दिए।
उनले सरकारले आगामी १० वर्षका लागि नाक, कान र घाँटी रणनीति बनाउन कमिटी बनाइरहेको जानकारी दिए।
स्वास्थ्य मन्त्रालय आधारभूत स्वास्थ्य सेवा प्याकेजमा पनि कान स्वास्थ्यबारे व्यवस्था भएको उनको भनाइ छ।