काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने व्यक्तिको नाम औपचारिक रुपमा सार्वजनिक भएको छ। हालसम्म औपचारिक रुपमा दाताको नाम सार्वजनिक भएको थिएन। सञ्चारमाध्यमहरुले स्रोत मार्फत दाताको नाम र तस्बिरहरु बाहिर ल्याएका थिए।
प्रधानमन्त्रीको मिर्गौला दाताको नाम सार्वजनिक भएपछि केहीले त्यसको विरोध समेत गरेका थिए। तर धेरैले प्रधानमन्त्री सार्वजनिक चासोका व्यक्ति भएकोले प्रधानमन्त्रीलाई मिर्गौला दान गर्नेको नाम पनि सावर्जनिक हुनुपर्ने मत राख्दै आएका थिए।
बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल भएपछि त्रिवि शिक्षण अस्पतालले औपचारिक रुपमा नै दाताको नाम सार्वजनिक गरेको छ।
प्रत्यारोपणपछि अस्पतालले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मिर्गौला दातामा समीक्षा संग्रौलाको नाम उल्लेख छ। समीक्षा प्रधानमन्त्रीको भान्जी हुन्। अस्पतालको विज्ञप्तिमा पनि सोही विवरण उल्लेख छ। विज्ञप्ति अनुसार समीक्षाको स्वास्थ्य अवस्था सामान्य छ।
प्रत्यारोपणपछि प्रधानमन्त्रीको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको र प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको विज्ञप्तिमा उल्लेख छ।
