काठमाडौं- गोरखाको आरुघाट गाउँपालिकामा भएको बलेरो जिप दुर्घटनाका ७ घाइतेको काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
उनीहरुलाई बिहीबार नेपाल सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। घाइते भएका ७ जनामध्ये तीन जनाको मेरुदण्डमा चोट लागे र एक जनाको काँधको हड्डीमा गम्भीर चोट लागेको छ। बाँकी तीन जना भने सामान्य अवस्थामा रहेका छन्।
अस्पतालका अनुसार घाइतेहरुको उपचार प्रक्रिया अगाडि बढीसकेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार ग १ ज ५५०५ नम्बरको जीप बुधबार साँझ करिब ७ः३० बजे सडकबाट झण्डै ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएका छन्।