सन्तोष रिजाल
विद्यार्थीको सधैं एउटै गुनासो रहने गर्छ- हामीलाई पढाइन्छ, पढ्न प्रेरित पनि गरिन्छ तर सही तरिका र स्रोत-साधनको सही प्रयोग गरेर कसरी पढ्ने भनेर सिकाइँदैन। यही समस्याले गर्दा पढाइमा धेरै समय र ध्यान दिँदादिँदै पनि सोचेअनुरूप नतिजा र ज्ञान हासिल गर्न सकेका हुँदैनौं।
विशेषगरी स्नातक तहमा गहिरो अध्ययन, अनुसन्धानात्मक पढाइ हुने गर्छ र धेरैजसो पाठ्यक्रम विद्यार्थी स्वयंले स्व-अध्ययन गर्नुपर्ने हुन्छ। छोटो समयमा नै धेरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने हुँदा स्रोत-साधनको रुपमा सबै पुस्तक किन्न साध्य नहुने, किन्छु भन्दा पनि समयमा नपाइने, सम्पूर्ण पुस्तक एकदमै महँगो हुने गर्छ। जसले गर्दा त्यस विषयमा आवश्यक ज्ञान हासिल गर्न सक्दैनौं अनि पछि पर्न बाध्य हुन्छौं। यो समस्याको उपाय भनेको सामाजिक सन्जालको सही र आवश्यक प्रयोग नै हो।
विन र प्रविधिको यो युगमा हामी सामाजिक सन्जालको नाममा अनावश्यक प्रयोग गरिरहेका छौं तर यसको सही ढङ्गले अधिकतम उपभोग गर्ने हो भने कुनै पनि संकायमा आमूल परिवर्तन ल्याउन सक्छौं। यस्तै जमर्को म र मेरो टिमले मेडिकल शिक्षामा गरेका छौं।
एमबिबिएस तेस्रो वर्ष अध्ययनरत विद्यार्थीको टिम मिलेर हामीले विज्ञान र प्रविधिको प्रयोग गरी एउटा अद्भूत उपहार पस्कन खोज्दै छौं। हामीले एउटा सफ्टवेयरको माध्यमबाट सम्पूर्ण एमबिबिएस, बिडिएस, नर्सिङ र पारामेडिक्सलाई एउटा मार्गदर्शन दिन खोजेका छौं।
आफूले मेडिकल शिक्षा अध्ययन गर्दै गर्दा भोगेका समस्या, साथीभाइका अप्ठ्यारा, सिनियरहरुको सल्लाह, सुझाव, जुनियर भाइबहिनीहरुको समस्यालाई पनि समेट्दै सम्पूर्ण शिक्षक-शिक्षिका एवं यस क्षेत्रका दक्ष वर्गहरुको साथ, सहयोग र हौसलाले यो काम गर्न अभिप्रेरित भएका हौं।
हामीले मेडिकोज पिडिएफ भन्ने एप बनाएका छौं, जसअन्तर्गत एमबिबिएस, बिडिएस, नर्सिङ र पारामेडिक्सका सम्पूर्ण पुस्तक राखेका छौं। त्यति मात्र नभएर हामीले यसमा पिजी तयारी पुस्तकहरु पनि समावेश गरेका छौं। यसलाई हामीले विद्यार्थीलाई एकदमै सरल हुनेगरी वर्गीकरण गरेका छौं जसले गर्दा यो एप चलाउन निकै नै सजिलो र झन्झटमुक्त छ।
६ महिनाअघि सार्वजनिक गरेकोमा हालसम्म यो एपको प्रयोगकर्ताको संख्या २०,००० बढी रहेको छ जसमा अधिकांश (७० प्रतिशत) विदेशी विद्यार्थी भेटिएको छ। एक नेपालीले बनाएको एप विदेशीले भन्दा नेपाली विद्यार्थीले धेरै उपभोग गरुन् र प्रविधि र शिक्षामा विदेश सरह प्रगति र सफलता हासिल गरुन् भन्ने चाहना रहेको छ।
यसका साथै हामीले मेडिकोज नामक सामाजिक प्ल्याटफर्म बनाएका छौं जुन अहिलेको अवस्थामा चितवन मेडिकल कलेजका एमबिबिएस र बिडिएस संकायका विद्यार्थीले प्रयोग गरिरहेका छन् र पढ्नमा धेरै नै सहज र फाइदाजनक भएको बताएका छन्। केही बाधा र अवरोध हुँदाहुँदै पनि यसलाई सम्पूर्ण संकायमा पुर्याउने लक्ष्य हाम्रो टिमले राखेको छ।
आफू मेडिकल विद्यार्थी नै भएकाले र यस क्षेत्रलाई नजिकैबाट नियालेका कारण यो हाम्रो कदम वरदान सावित हुन सक्नेमा हामी विश्वस्त छौं। आजसम्म सहयोग र विश्वास गरिरहनु भएका सम्पूर्णमा हामी एकदमै कृतज्ञ छौं।
अझ यसमा मेडिकल कलेज, यस क्षेत्रमा आबद्ध पेसाकर्मी, प्रयोगकर्ता लगायत सम्पूर्ण विज्ञहरुको सल्लाह, सुझाव र हौसलाले हामीमा नवीन ऊर्जा थप्ने र अझै थुप्रै काम गर्न अभिप्रेरित हुने छौं। यो विद्यार्थी हित कार्यमा विशेषगरी कलेज, गुरुवर्ग र सम्बन्धित निकायले चासो र सहयोग गरे यसलाई नयाँ उचाइमा लान सक्नेमा हामी ढुक्क छौं।