काठमाडौं- काेराेना भाइरसको प्रभाव न्यूनिकरण, पूर्वतयारी तथा सहजीकरण समिति अध्यक्ष गृहमन्त्री रामबहादुर थापा बादलकाे अध्यक्षतामा शुक्रबार गृहमन्त्रालयमा बैठक बस्याे।
बैठकमा गृह सचिव महेश्वर न्याैपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका उपरथी प्रभुराम शर्मा, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहितको बैठक बस्याे।
गृहमन्त्रीले नाकाहरुमा कडाइ तथा निगरानी बढाउन‚ बिओपिलाई पनि सक्रिय बनाउनका लागि जनचेतना बढाउन र कालाेबजारी बढ्न लागेकाे खबर आइरहेकाले जिल्ला प्रशासन कार्यालय र प्रहरीले निगरानी बढाउन र कारबाही गर्न निर्देशन दिएका छन्।
निर्णयहरु:
- कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको कार्यमा समन्वय गर्ने निर्णय गरियो।
- कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका साथै सो बाट प्रभावित हुन सक्ने सम्भावना, सो को लक्षणहरु साथै त्यसबाट पर्ने प्रभाव र सो बाट सुरक्षीत हुन अपनाउनुपर्ने सावधानीलगायतका विषयवस्तुको बारेमा छलफल गरियो।
- कोरोना भाइरस (कोभिड-१९) को प्रभाव न्यूनिकरण गर्न पूर्वतयारी स्थितिमा रहने, देशको सीमा नाकाहरुमार्फत आवतजावत गर्नेहरुमाथी सुरक्षाकर्मीले थप निगरानी बढाउने तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा परीक्षण गर्न सहयोग गर्ने, र जनमानसमा कोरोना भाइरससम्बन्धी जनचेतना बढाउन सूचनाहरु सम्प्रेषण गर्ने निर्णय गरियो।
- दैनिक रूपमा आवश्यक पर्ने अत्यावश्यक सामाग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने साथै महङ्गी तथा कालाबजारीको नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरियो।